विराटनगर । विराटनगर महानगरपालिका–१० स्थित संसारीमाई भगवती मन्दिरबाट दुर्गा भगवतीको मूर्तिसहित मन्दिरका सामग्री चोरी गरेको आरोपमा एक युवक नियन्त्रणमा परेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय रानी, मोरङबाट खटिएको बीआईटी टोलीले शनिबार साँझ विराटनगर महानगरपालिका–१५ स्थित नं १ ढाटबाट उनलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा पर्नेमा धनकुटाको पाख्रिबास नगरपालिका–८ निवासी २४ वर्षीय सुरज विक छन् ।
सशस्त्र प्रहरीका अनुसार विराटनगरबाट जोगबनीतर्फ जाँदै गरेका विकलाई शंका लागेर रोकी जाँच गर्ने क्रममा उनी भारततर्फ भाग्न खोजेका थिए ।
त्यसपछि भारतीय सशस्त्र सीमा बल (एसएसबी) को सहयोगमा उनलाई नियन्त्रणमा लिइएको हो । उनको साथबाट धातुको दुर्गा भगवतीको मूर्ति एक थान, घण्टी एक थान, पानसको दियो एक थान, कमण्डलु एक थान र मूर्तिमा रहेको सुनजस्तो देखिने तिलहरी एक थान फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी गुल्ममा ल्याएर सोधपुछ गर्दा उक्त सामग्री विराटनगर–१० स्थित संसारीमाई भगवती मन्दिरबाट चोरी गरेको खुलेको जनाइएको छ ।
नियन्त्रणमा परेका विकलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
View : 38
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved