Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

मृतकको कानबाट अस्पताल भित्रै सुन चोरी !

उद्‌घोष संवाददाता
४ जेठ २०८३, सोमवार

विराटनगर । अस्पताल भित्र बिरामीको सुन कस्ले चोर्यो ? बिरामीको मृत्यु भएपछि वा अघि सुन चोरी भएको छ । यो विषयले विराटनगरको अस्पतालको सुरक्षा क्षेत्रमा बहस सुरु भएको छ ।

विराटनगरको रंगेली रोडस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको कानबाट सुनको मुन्द्रा हराएको घटनाले अस्पताल प्रशासनमाथि गम्भीर प्रश्न उठाएको छ । 

उदयपुरको त्रियुगा नगरपालिका–७ निवासी ४० वर्षीया सबिना दनुवारको कानमा लगाएका दुबै गहना नदेखेपछि उनको परिवारले खोजविन गर्यो ।

उपचारकै क्रममा मृत्यु भएपछि दुवै कानमा रहेको करिब एक तोला सुनको मुन्द्रा चोरी भएको जनाउँदै मृतकका परिवारले आइतबार प्रहरीमा खबर गरे । 

प्रहरी सुन चोरीमा संलग्न ब्यक्तिको खोजीमा जुटेको छ । विष सेवनपछि बिरामी परेकी दनुवारलाई शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो ।

आइतबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएपछि परिवारका सदस्यले कानमा लगाएको सुन देखेनन् । 

सोधपुछ गरे, कसैले पनि यसको उत्तर नदिएकाले प्रहरीलाई आग्रह गरिएको परिवारले जनाएको छ । 

मृत्यु हुनुअघि उपचारका क्रममा खिचिएको भिडियोमा उनको दुवै कानमा सुनको गहना देखिएको बताइएको छ ।

सो भिडियो देखाएपछि अस्पताल प्रशासन क्षतिपूर्ति दिन तयार भएको छ । अस्पतालले एक तोला सुन बराबरको क्षतिपूर्ति दिएर घटना मिलाएको छ । 

एक तोला सुनको मूल्य बराबरको चेक मृतक परिवारलाई अस्पतालले उपलब्ध गराएको छ । अस्पतालमा आवद्ध शम्भु अधिकारीले दुबै पक्ष बीच समझदारी भएकाले यो समाचारको विषय नभएको उद्घोषलाई बताए । 

अस्पतालले मिलाउने प्रयास गरे पनि चोरी को बाट भयो भन्नेमा प्रहरीले अनुसन्धान थालेको छ । 

वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अनमोल खड्काले यसको अनुसन्धान थालेका छन् । 

अस्पतालका सीसीटीभी फुटेजहरू सबै हेरेर चोर पत्ता लगाई कारवाही गरिने मोरङका प्रहरी उपरीक्षक कबित कटुवालले जानकारी दिए । 

दनुवारको मृत्यु घोषणा गर्नुअघि अस्पतालमा मुटुको अन्तिम चाल भए नभएको पत्ता लगाउन ईसीजी गरिएको थियो । सो क्रममा मृतकको कानबाट सुनका गहना थुतिएको हुनसक्ने परिवारको आशंका छ ।

View : 127

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved