Biratnagar, Morang, Nepal
९ असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
शिक्षा

दक्ष इञ्जिनियरसँगै देश र समाजका लागि स्वयंसेवा गर्नुपर्छ : उपकुलपति पोखरेल

उद्‌घोष संवाददाता
८ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले इञ्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीले व्यावसायिक दक्षतासँगै देश र समाजप्रति उत्तरदायी भएर संकटका बेला स्वयंसेवा गर्न सधैँ अग्रसर हुनुपर्ने बताएका छन् ।

विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङतर्फ सिभिल तथा इलेक्ट्रिकल इन्जिनियरिङका चारवर्षे स्नातक तहमा भर्ना भएका २०८३ समूहका विद्यार्थीलाई बुधबार आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उपकुलपति पोखरेलले व्यावसायिक ज्ञान र सीपसँगै सामाजिक उत्तरदायित्वको भावना विकास गर्नुपर्नेमा जोड दिए । 

उनले मनमोहन प्राविधिक विश्वविद्यालयले सुरूदेखि नै व्यावसायिक दक्षताका साथै सामाजिक उत्तरदायित्व बहन गर्न सक्ने सक्षम इञ्जिनियर उत्पादनलाई प्राथमिकता दिँदै आएको बताए । 

इञ्जिनियरिङको ज्ञानलाई समाजका वास्तविक समस्या समाधानमा प्रयोग गर्न सक्ने जनशक्ति उत्पादन गर्नु विश्वविद्यालयको उद्देश्य रहेको उनको भनाइ थियो ।

उपकुलपति पोखरेलका अनुसार विश्वविद्यालयबाट पहिलो समूहमा इञ्जिनियरिङ काउन्सिलको परीक्षा दिएका १७ जनामध्ये १५ जना उत्तीर्ण भई व्यावसायिक इञ्जिनियर बन्न सफल भएका छन् । यसले विश्वविद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीको मेहनतलाई समेत प्रतिबिम्बित गरेको उनले बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य तथा उत्प्रेरक वक्ता डा. सुदन झाले इञ्जिनियरिङ अध्ययन गर्ने विद्यार्थी सिर्जनाको मुहान भएकाले कक्षाकोठाको अध्ययनमा मात्र सीमित हुन नहुने बताए । 

उनले विद्यार्थीलाई फिल्डमा पुगेर वास्तविक समस्या बुझ्ने, समाधान खोज्ने र व्यवहारमा प्रयोग गर्ने क्षमता विकास गर्न आग्रह गरे । 

इञ्जिनियर पढेको छु भन्दैमा सानोतिनो काम गर्न हुँदैन भन्ने सोच राख्नु हुँदैन, उनले भने, घर, समाज र दैनिक जीवनमा आइपर्ने साना–ठूला समस्या आफैं समाधान गर्न सक्ने दक्षता भए मात्र आत्मनिर्भर इन्जिनियर बन्न सकिन्छ । उनले विदेशको भौगोलिक अवस्था र हावापानी बुझेर गरिने अध्ययन पनि देशका लागि उपयोगी हुने बताए ।

विश्वविद्यालयका रजिस्ट्रार डा. किशोर अधिकारीले स्थापना भएको छोटो समयमै मनमोहन प्राविधिक विश्वविद्यालयले आफ्नो गुणस्तरको पहिचान बनाउन सफल भएको बताए । 

अब विश्वविद्यालयलाई दिगो र थप प्रतिष्ठित संस्थाका रूपमा स्थापित गर्ने जिम्मेवारी विद्यार्थी, शिक्षक तथा पदाधिकारी सबैको रहेको उनले बताए । 

उनले इञ्जिनियरिङ अध्ययन गर्ने विद्यार्थी अनुशासित, जिज्ञासु, साहसी र नैतिकवान् हुनुपर्नेमा जोड दिए । 

अध्ययन पूरा गरेपछि आफूले प्राप्त गरेको ज्ञान र सीपलाई देश तथा समाजको हितमा प्रयोग गर्नुपर्ने उनको भनाइ थियो ।

इञ्जिनियरिङ क्याम्पस धरानका उपप्राध्यापक काजीराम कार्कीले सफल इञ्जिनियर बन्न सकारात्मक सोच र निरन्तर सिक्ने बानी आवश्यक रहेको बताए । 

भौतिक संरचना निर्माण गर्नु मात्र इञ्जिनियरको जिम्मेवारी नभएको भन्दै उनले ज्ञान, सीप र असल विचारको संयोजनबाट मात्र सफल इञ्जिनियर बन्न सकिने बताए ।

विश्वविद्यालयको स्कुल अफ इञ्जिनियरिङका डिन डा. रेखा श्रेष्ठले कडा परिश्रमसँगै अनुशासित भएर समयमै सही निर्णय लिन सक्ने क्षमता इन्जिनियरमा हुनुपर्ने बताइन् । 

अन्तर्राष्ट्रिय बजारका लागि समेत दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य विश्वविद्यालयले लिएको उनको भनाइ थियो ।

विश्वविद्यालय संरक्षण समितिका सदस्य सत्यनारायण चौधरीले मनमोहन प्राविधिक विश्वविद्यालयलाई अन्य संस्थाभन्दा फरक र गुणस्तरीय बनाउने अभियानमा आफूहरू निरन्तर लागिरहेको बताए । 

परीक्षा विज्ञ इञ्जिनियर युवराज चौधरीले समयमै परीक्षा सञ्चालन तथा शैक्षिक गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउन विश्वविद्यालय प्रतिबद्ध रहेको बताए ।

कोशी प्रदेश सरकारले २०७६ सालमा स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालय देशकै पहिलो प्राविधिक विश्वविद्यालयका रूपमा स्थापित भएको हो । 

हाल विश्वविद्यालयअन्तर्गत स्कुल अफ इञ्जिनियरिङ, स्कुल अफ एप्लाइड साइन्स एन्ड टेक्नोलोजी तथा स्कुल अफ मेडिसिन एन्ड एप्लाइड हेल्थ साइन्स सञ्चालनमा छन् ।

विश्वविद्यालयमा सिभिल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, अस्पताल व्यवस्थापन, औषधि विज्ञान र कानुनलगायत विषयमा स्नातक तथा स्नातकोत्तर तहको पठनपाठन हुँदै आएको छ । 

विश्वविद्यालयले प्राविधिक शिक्षा र व्यावसायिक सीपसँगै सामाजिक उत्तरदायित्व बोध भएका दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ ।

View : 149

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved