Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले ११औं महाधिवेशन : कोशीबाट उम्मेदवारको लर्को

उद्‌घोष संवाददाता
१ पुष २०८२, मङ्गलवार

विराटनगर । एमालेको पदाधिकारीमा कोशी प्रदेशका धेरै नेताहरुले उम्मेदवारी दिएका छन् । तेस्रोपटक अध्यक्ष हुन उम्मेदवारी दिएका ओली झापाका हुन् । मोरङका नेता गुरु बराल अध्यक्ष ओली प्यानलबाट उपाध्यक्षको उम्मेदवार बनेका छन् ।

उनी यसअघि मनोनित उपाध्यक्ष थिए । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं विघटित प्रतिनिधिसभा सदस्य भीम आचार्यले पनि उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । ओली प्यानलबाट केन्द्रीय सदस्यको सूचीमा परेका आचार्यले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । 

पार्टीमा कामको मूल्याङ्कन हुनुपर्ने भन्दै उपाध्यक्षमा उठेको बताएका छन् । आचार्य नवौं महाधिवेशनमा सचिवमा निर्वाचित भएका थिए । 

कोशी प्रदेश सरकारको मुख्यमन्त्री भएका आचार्यविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा केही दिनअघि मुद्दा दर्ता भएको छ । 

ईश्वर पोखरेल पक्षबाट योगेश भट्टराईले उपमहासचिवमा उम्मेदवारी दिएका छन् । 

ओली निकट भनेर चिनिएका र ओलीका हरेक कमजोरी ढाकाछोप गर्दै आएका राजेन्द्र गौतम पनि ओली समूहको लिस्टमा नपरेपछि स्वतन्त्र रुपमा उपमहासचिवको उम्मेदवार बनेका छन् ।

ओलीको वरिपरि बस्नेहरुको कोपभाजनमा आफू परेको उनको प्रतिक्रिया छ ।

एमाले मोरङका नेता विनोद ढकालले पनि पोखरेल पक्षबाट सचिव पदमा उम्मेदवारी दिएका छन् । त्यसैगरी ओली पक्षबाट केन्द्रीय सदस्यको सूचीमा परेका लालबाबु पण्डितले त्यसलाई इन्कार गर्दै सचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् । 

यस अघि उनी नेकपा एमाले प्रशिक्षण विभाग प्रमुख भएका थिए । ओली पक्षमा नअटाएपछि अग्नि खरेलले पनि सचिवमै उम्मेदवारी दिएका छन् । 

कोशीका पूर्व मुख्यमन्त्री शेरधन राई, हालका मुख्यमन्त्री हिक्मत कार्की र पूर्व मन्त्री भानुभक्त ढकाल पनि ओली पक्षबाट सचिवको उम्मेदवार बनेका छन् ।

उपमहासचिवका रुपवमा अघि बढाइएका उनलाई सचिवमै मनाएर ओली पक्षले माओवादीबाट आएका लेखराज भट्टराई उपमहासचिवको उम्मेदवार बनाएको हो । 

मोरङबाट रंगेलीका मेयर दिलिप बगडिया, विराटनगर उपमहानगरकी उपमेयर शिल्पा निराला कार्की, जीवन घिमिरे, खेम नेपाली, महेश भट्टराई, ऋषिकेश पोखरेल, रामलाल साह, युवराज बाँस्कोटा, मनोज अग्रवाल, शान्ति लिम्बू, सत्यनारायण चौधरी, सरस्वती खरेल, यशोदा अधिकारी, पर्शुराम बस्नेतलगायत उम्मेदवार छन् ।

View : 103

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved