Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

आठौं विराट गोल्डकपको फाइनल जित्ने दुवै टिमको विश्वास

सांग्रिलालाई घरेलु दर्शकको साथ, मच्छिन्द्रलाई आक्रामक खेलको आस

उद्घोष सम्वाददाता
२३ चैत २०८०, शुक्रवार

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका मच्छिन्द्र एफसी काठमाण्डौं र घरेलु टिम सांग्रिला मोरङ एफए उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् ।

विराटनगरको सहिद रङ्गशालामा शनिबार ६ः४५ बजे हुने फाइनल खेलमा मच्छिन्द्र पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ । त्यस्तै घरेलु टोली तेस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा देखिन्छ ।

सांग्रीलाले विभागीय टिम सशस्त्र प्रहरी बल र पाहुना टोली भुटानको आरटीसी एफसीलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । सांग्रिलाले क्वार्टरफाइलनमा भुटानको आरटीसीलाई ३–२ गोलले र सेमिफाइनलमा एपीएफलाई सडेन डेथमा ४–३ गोलले हराउँदै उपाधि नजिक पुगेको टोली हो ।

विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको मच्छिन्द्रले क्वार्टरफाइनलमा कोलकाताको साउथर्न समिति २–१ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो । बिहीबारको सेमिफाइनलमा मच्छिन्द्रले सिक्किम ड्रागन भारतलाई १–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

सांग्रिलाले सशक्त टिमलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले खेलाडीमा मनोबल उच्च देखिन्छ । घरेलु टोलीले तेस्रो पटक आफूलाई प्रतियोगिताको उपाधि नजिक पुर्याएको हो ।
यसअघि २०१८ सालमा तत्कालिन महेन्द्र गोल्डकपमा घरेलु टिम मोरङ–११ फाइनलमा पुगेर उपविजेता भएको थियो । त्यसबेलाको पहिलो उपाधि भारतको कोलकाताले गोल्डकपको उपाधि जितेको थियो । २०१९ सालमा मोरङ–११ ले उपाधि हात पारेको थियो । 

गत वर्षको सातौँ संस्करणमा विराटनगरको घरेलु टोली विराटनगर सिटी एफसीले गोल्डकपको उपाधि जितेको थियो । पाहुना टोली भारतको केरलाको लुका सकर क्लबलाई फाइनलमा पराजित गर्दै विराटनगर सिटीले उपाधि हात पारेको थियो । आठौं संस्करणसम्म आइपुग्दा अर्को घरेलु टिम लगत्तै फाइनलमा पुगेको हो ।

विराटनगरमा शुक्रबार प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनल अघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका हुन् । 

मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आठौँ संस्करणको विराट गोल्डकपमा टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए । 

‘यो सँगै सिजनको तेस्रो पटक गोल्डकपको उपाधि जित्ने लक्ष्यको साथ खेलाडी मैदान उत्रिने छन्’ उनले भने, ‘यसअघि केपी ओली कप र बागमती गोल्डकपको उपाधि जितिसकेका छौं ।’ 

यो सिजनमा तेस्रो पटक गोल्डकपको उपाधि जित्ने लक्ष्य लिएर आएको उनले दाबी गरे । उनले खेलको सुरुवातदेखि आक्रमण रणनीतिमा खेलाडी मैदानमा उत्रिने बताए । 

‘उपाधि उचाल्ने प्रयास रहने छ,’ उनले भने’ ‘दुई लक्ष्य लिएका आएका थियौं, एउटा उपाधि र अर्को फाइनल पुग्ने, एउटा पूरा भयो, अर्को शनिबार हुन्छ ।’ 

मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले पहिलो पटक फाइनल पुगेकोले नयाँ च्याम्पियन बनेर इतिहास रच्ने दाउमा रहेको उनले बताए । नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उनको भनाई छ । ‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो, त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ’ उनले भने ।

सांग्रिलाका प्रशिक्षक रानु रानामगरले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । ‘मच्छिन्द्र राम्रो टिम हो, अनुभवी खेलाडी छन्, त्यही भएर हामी टेक्निकल खेल प्रदर्शन गर्नेछौँ’ उनले भने, ‘हामी ग्राउन्ड लेभलबाट खेल खेल्नेछौँ ।’ 

फाइनलभन्दा अगाडी जसरी हाम्रो खेलाडी खेल खेलेका थिए, त्यही अनुरूप प्लान गरेर फाइनल खेल्ने बताए । उनका अनुसार सांग्रिलाले ४–४–२ को रणनीतिमा खेल्ने छन् । 

अधिकांश ‘ए’ डिभिजन क्लबका अनुभवी खेलाडी समेट्नुका साथै राम्रो तालमेल भएकाले च्याम्पियन बन्नेमा ढुक्क रहेको उनले दाबी गरे ।

सांग्रिलाका कप्तान अभिषेक लिम्बुले होम ग्राउण्डमा घरेलु दर्शकको साथ सहयोग र उत्कृष्ट खेल प्रर्दशन गर्ने भएको कारणले गोल्डकपको फाइनलको उपाधि जित्ने दाबी गरे ।  

‘हाम्रो खेलले नेपाली दर्शकको मन जित्नेमा आशाबादी छौं’ उनले भने, ‘अघिल्ला खेलको कमीकमजोरी सुधारेर प्रदर्शन गर्ने र च्याम्पियन बनेरै छाड्नेछौं ।’ 

ए डिभिजन लिग विजेता चर्च ब्वाइज र पाहुना टोली भुटान टिमलाई जितेको हुनाले फाइनलमा उपाधि जित्नेमा सांग्रिला ढुक्क रहेको उनको भनाई छ ।

चैत १५ देखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशी तीन र विभागीय तीन टिमसहित ‘ए’ डिभिजनका १० टिमको सहभागी रहेको विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले जानकारी दिए । 

गोल्डकपको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

View : 303

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved