उद्घोष दैनिक २२ औँ वार्षिकोत्सव
विराटनगर । नेकपा (एमाले) का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक विकासको नेतृत्व सरकारले एक्लै गर्न नसक्ने भन्दै निजी क्षेत्रलाई लगानीमैत्री वातावरण उपलब्ध गराउनु राज्यको मुख्य जिम्मेवारी भएको बताएका छन् ।
उद्घोष दैनिकको २२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै पाण्डेले नेपालले पुरानो सोच र नियन्त्रणमुखी आर्थिक नीतिबाट बाहिर ननिस्किएसम्म अपेक्षित विकास हासिल गर्न नसक्ने बताए ।
‘सरकारले देश बनाउने होइन । सरकारले मार्गदर्शन गर्ने, नियमन गर्ने र निजी क्षेत्रलाई सहज वातावरण बनाउने हो । निजी लगानीबिना देश बन्दैन,’ उनले भने ‘अहिले बजेटको ठूलो हिस्सा चालु खर्चमा जान्छ । पुँजीगत खर्च अपेक्षाकृत कम छ । यसरी मात्र देशको आर्थिक रूपान्तरण सम्भव हुँदैन ।’
व्यवसायी र लगानीकर्तालाई राज्यले शंकाको दृष्टिले हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनले बताए ।
‘लगानीकर्ता स्वभावैले जोखिमप्रति सचेत हुन्छ । यदि राज्यले नै व्यवसायीलाई डराउने वातावरण बनायो भने नयाँ लगानी आउँदैन,’ उनले भने ।
उनले पछिल्लो समय अनुसन्धानका नाममा व्यवसायीलाई पक्राउ गर्ने र पछि प्रमाण नपुग्दा छाड्ने प्रवृत्तिले लगानीको वातावरण कमजोर बनाएको बताए ।
‘पहिला थुन्ने र पछि सुन्ने शैलीले लगानीकर्ताको विश्वास घटाउँछ । आर्थिक विकासका लागि कानुनी सुरक्षा र स्थिरता आवश्यक छ ।’
View : 45
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved