विराटनगर । विराटनगर–३ त्रिवेणी चोकमा भाडाको घरमा बस्दै आएका गंगा ढकाल र गीतादेवी ढकाल आफ्नो आठ वर्षीय छोरा भुवन ढकालको उपचारका लागि सहयोगको याचना गरिरहेका छन् ।
भुवन केही वर्षदेखि स्वास रोकिने गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका छन् । उनी एडेनोइड हाइपरट्रोफीको तेस्रो तहको समस्याले पीडित छन् ।
उनको नाकको पछाडिको भागमा रहेको एडिनोइड ग्रन्थि अत्यधिक बढेर श्वासप्रश्वास हुने बाटोको ठूलो भाग छेकिने गरेको छ । यही कारण उनी राति सुत्दा पटक–पटक सास रोकिएर अप्ठेरोमा पर्ने गर्दछन् ।
सामान्य शल्यक्रिया गरेर बढेको ग्रन्थी फाल्दा फेरी समस्या बल्झिने र पटक–पटक त्यसो गर्दा क्यान्सरको जोखिम हुने चिकित्सकहरूले सल्लाह दिने गरेका छन् ।
जन्मजात रूपमा भुवनको दुई वटा करङ पनि दबिएको छ । जसका कारण मुटु र फोक्सोमा अतिरिक्त दबाब पर्ने गरेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । तीन छोरीपछि जन्मिएका एकमात्र छोराको उपचार गर्न नसक्दा परिवार मानसिक र आर्थिकरूपमा संकटमा परेका छन् ।
गंगाले छोराको उपचारका लागि विराटनगर र काठमाडौंका अस्पताल धाउ“दै आएका छन् । तर राम्रो उपचारका लागि आर्थिक अभाव बेहोर्नु परेको बताएका छन् ।
उपचारका क्रममा चिकित्सकहरूले भुवनको स्वास्थ्य समस्यामा सुधार ल्याउनका लागि शल्यक्रिया गरी बढेको ‘एडिनोइड’ हटाउन निकै जोखिमपूर्ण शल्यक्रिया गर्नुपर्ने र त्यसका लागि खर्च पनि धेरै लाग्ने जानकारी गराएका छन् । तर गंगा र गीतादेवीले धेरै पैसा जोहो गर्न सकेका छैनन् ।
छोरोका उपचारका लागि जटिल शल्यक्रिया गर्न कम्तिमा पनि १० लाख रुपैयाँ लाग्ने भएपछि उनी सहयोगी दानबिरहरूको पर्खाइमा छन् । नेपालमा सम्भव नभए भारतका सुविधा सम्पन्न अस्पतालमा समेत उपचारका लागि लैजान सुझाव पाउने गरेका छन् । तर आर्थिक अभावकै कारण उनी अघि बढ्न सकेका छैनन् ।
गंगाको स्थायी घर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित कालाबञ्जर हो । तर त्यहाँ कुनै पुख्र्यौली सम्पत्ति नभएका गंगा वर्षौंदेखि विराटनगरमा भाडामा बस्दै आएका छन् ।
विगतमा उनी पत्रपत्रिका घर–घरमा पुर्याउने काम गरेर परिवार चलाउँथे । तर आफूले चलाइरहेको साइकललाई मोटरसाइकलले ठक्कर दिएर दुर्घटना परेपछि त्यो काम पनि छाड्नुपर्यो ।
अहिले स्वास्थ्यमा केही सुधार आएपछि विराटनगरस्थित शक्तिमाता हार्डवेयरमा सामान्य काम गरेर परिवारको जीविका चलाइरहेको गंगाले बताए ।
सीमित आम्दानीले दैनिक खर्च धान्नै कठिन भइरहेका बेला छोराको लाखौं रुपैयाँको उपचार खर्च जुटाउनु उनका लागि असम्भवजस्तै बनेको छ । हरेक रात छोरा सुत्दा सास रोकिने गर्दा आफू र परिवार निरन्तर चिन्तामा बाँचिरहेको उनी बताउँछन् ।
विराटनगर–३ स्थित मोर्डन एरा बोर्डिङ स्कुलमा कक्षा २ मा पढ्दै आएका भुवनलाई अहिले विद्यालयले निःशुल्क पढाइदिंदै आएको छ । भुवनकी आमा गीतादेवी ढकाल पनि सोही विद्यालयमा सरसफाइ गर्ने काम गर्दै आएकी छन् । तर त्यति काम गरेर आएको पैसा महंगो औषधिका लागि पर्याप्त छैन ।
न्यून आर्थिक अवस्था भएका गंगा र गीतादेवीले छोराको उपचारका लागि दैनिक रुपमा महंगो एन्टिबोयोटिक किन्न सक्दैनन् ।
आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन पुगेका आठ वर्षीय भुवनको जीवन बचाउन गंगा र गीतादेवी ढकालले सहयोगी मनहरू, सामाजिक संघसंस्था, दाताहरूसमक्ष सहयोगको अपिल गरेका छन् ।
View : 38
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved