डा. भगवान कोइरालालाई कम्पनीले उत्पादन गर्ने सलाइन र आगामी योजनाबारे जानकारी दिदै उद्योगका निर्देशक दिनेश ठाकुरसहित ।
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ मा १ अर्ब रुपैयाँ भन्दाबढी लगानीमा स्थापना गरिएको ‘एलेक्सा लाइफसाइन्सेज’ सलाइन उत्पादन उद्योग सञ्चालनमा आएको छ ।
उद्योगका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले शुक्रबार एक विशेष समारोहबीच औपचारिक उदघाटन गरेका हुन् ।
स्वदेशमै सलाइन उत्पादन गरी स्वास्थ्य क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित स्थापना गरिएको उद्योगले केही समय अघिदेखि नै उत्पादन बजारमा पठाउन थालिसकेको जनाएको छ ।
उद्योगीद्वय दिनेश ठाकुर र रञ्जित भगतले करिब पाँच वर्षको दीर्घ अध्ययन, अनुसन्धान र योजनापछि उद्योग सञ्चालनमा ल्याएका हुन् ।
उद्योगमा जर्मन प्रविधिमा आधारित अत्याधुनिक मेसिन प्रयोग गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार सलाइन उत्पादन भइरहेको सञ्चालकहरूले दाबी गरेका छन् ।
उद्घाटन समारोहमा बोल्दै डा. कोइरालाले स्वदेशमै औषधि उत्पादन हुनु देशका लागि गर्वको विषय भएको बताए ।
‘गुणस्तरमा कुनै सम्झौता नगरी उत्पादनलाई निरन्तरता दिनसके यसले स्वास्थ्य क्षेत्र मात्र होइन, समग्र अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याउनेछ,’ उनले भने ।
उद्योगले पहिलो चरणमा ‘लार्ज भोल्युम प्यारेन्टरल्स’ अन्तर्गत १०० एमएलदेखि ३ हजार एमएलसम्मका सलाइन उत्पादन गरिरहेको छ ।
दोस्रो चरणमा १ देखि २० एमएलसम्मका ‘स्मल भोल्युम प्यारेन्टरल्स’ तथा तेस्रो चरणमा आँखा र कानमा प्रयोग हुने औषधि उत्पादन गर्ने योजना रहेको निर्देशक दिनेश ठाकुरले जानकारी दिए ।
उनले सहज मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउने र आयातमा निर्भरता घटाउने उद्योगको मुख्य उद्देश्य रहेको बताए । ‘सलाइन उत्पादनको लागत उच्च छ ।
तर, बजार मूल्य समायोजन हुन नसक्दा हाल घाटा सहेरै उत्पादन गरिरहेका छौं,’ उनले भने ।
स्वदेशी उद्योगको संरक्षणका लागि नीतिगत सुधार र सरकारी सहुलियत आवश्यक रहेकोमा उनले जोड दिए ।
हाल उद्योगले १५० जना भन्दाबढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ ।
दक्ष जनशक्ति र आधुनिक व्यवस्थापन प्रणालीमार्फत सञ्चालन भइरहेको उद्योगले आगामी दिनमा विदेशी बजारमा समेत औषधि निर्यात गर्ने लक्ष्य राखेको छ ।
नेपालको औषधि बजारमा विदेशी कम्पनीहरूको वर्चस्व कायम रहेका बेला स्वदेशी लगानीमा सञ्चालनमा आएको यस उद्योगले आयात प्रतिस्थापन गर्दै औद्योगिक तथा स्वास्थ्य क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
View : 132
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved