Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

रास्वपा तेह्रथुमका सभापतिसहित नेता कार्यकर्ताले दिए सामुहिक राजिनामा

उद्‌घोष संवाददाता
६ माघ २०८२, मङ्गलवार

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तेह्रथुमको जिम्मेवारीमा रहेका प्रमुख नेता–कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।

सिफारिस गरेको उम्मेदवारलाई हटाएर पार्टीले आफुखुसी रुपमा उम्मेदवार तोकेको भन्दै रास्वपाका जिल्ला सभापति सुमन खत्री, म्याङलुङ गाउँपालिका, लालिगुरास गाउँपालिका, छदर, फेदाप, आठराई गाउँपालिका समितिका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएको घोषणा गरेका छन् ।

रास्वपाले तेह्रथुममा ऋतुराज लिम्बूलाई उम्मेदवार बनाएको छ । तर पार्टीको जिल्ला समितिले भने सुरेन्द्र कार्कीलाई सर्वसम्मत रुपमा प्रस्ताव गरेको थियो । कार्कीले जेनजी आन्दोलनको समेत नेतृत्व गरेका थिए ।

रास्वपा नेतृत्वले भने जिल्लाका नेता कार्यकर्ताको भावना विपरित आफुखुसी उम्मेदवार चयन गरेको असन्तुष्ट पक्षले आरोप लगाएका छन् ।

उम्मेदवार सिफारिस गरिएका लिम्बू भने बालेन साहको कोटामा उम्मेदवार बनाइएको जनाइएको छ । 

रास्वपाका स्थानीय नेताहरूले पार्टीले पारित गरेको उम्मेदवार छनौट प्रक्रियाभन्दा बाहिर गएर जिल्ला कार्यसमिति र प्रदेश समितिको भावनाविपरीत अमूक व्यक्तिलाई टिकट दिएको जिकिर गरेका छन् । जसका कारण पार्टीको विधि माथि त प्रश्न उठेको र व्यापक राजनीतिक सहमतिबाट गरिएको निर्णयमा समेत कुठराघात भएका कारण राजिनामा दिइएको घोषणा गरेका छन् ।

‘वैकल्पिक राजनीतिको मूलधार मानिएको रास्वपामै विधि र प्रक्रिया बाहिर गएर टिकट चलखेल हुन्छ भन्ने कुरा हाम्रो कल्पनाभन्दा बाहिरकै विषय रह्यो’ उम्मेदवार सिफारिस भएर पनि हटाइएका कार्कीले फेसबुकमा लेखेका छन्, ‘कागजमा उम्मेदवार छनोट प्रक्रिया वैज्ञानिक देखिए पनि योग्यता, क्षमता, भिजन, आन्तरिक निर्वाचन तथा जिल्ला–प्रदेश सिफारिस सबैलाई बेवास्ता गर्दै माथिल्लो तहको सीमित स्वार्थअनुसार गोप्य रूपमा टिकट वितरण हुनु भनेको जिल्लामा भएको राजनीतिक सहमति, नव युवाको भरोसा, आशावादी तेह्रथुमे जनताको भावना र दलको आन्तरिक लोकतन्त्रप्रति गरिएको ठूलो कुठाराघात हो । यो जेनजी आन्दोलनमाथिको धोका पनि हो, यसले ‘बोतल नयाँ, तर भित्रको झोल पुरानै’ भन्ने शंका जन्माएको छ ।’

View : 234

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved