Biratnagar, Morang, Nepal
१ जेठ २०८२, बुधवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

गृहमन्त्री र आईजीपीहरूको आवागमनमा विराटनगरका सडक र ट्राफिक लाइट बन्द

बुधबार हुने प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्न एक दिनअघि नै विराटनगर आएका गृहमन्त्री रमेश लेखकसहितका उच्च पदस्थ सुरक्षा अधिकारीहरूको सवारीले यहाँका ट्राफिक लाइट दिनभरि नै बन्द गरिएका छन् ।
कमल रिमाल
१ जेठ २०८२, बुधवार

विराटनगर । अति विशिष्ट व्यक्ति (भीभीआईपी) को आवागमनमा ट्राफिक लाइटसहित सडक बन्द हुँदा सास्ती खेपेका सर्वसाधरणले मंगलबार विराटनगरमा गृहमन्त्रीको सवारी हुँदा पनि त्यस्तै सास्ती खेप्नुपरेको छ ।

बुधबार हुने प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्न एक दिनअघि नै विराटनगर आएका गृहमन्त्री रमेश लेखकसहितका उच्च पदस्थ सुरक्षा अधिकारीहरूको सवारीले यहाँका ट्राफिक लाइट दिनभरि नै बन्द गरिएका छन् । 

सवारी हुने रुटमा सुरक्षाकर्मीले सर्वसाधरणलाई रोकेर हलचल गर्न दिएनन् ।

स्थानीय सुरक्षा अधिकारीले उपल्लो अधिकारीलाई गरेको अतिशयोक्ति चाकरीपूर्ण व्यवहारका कारण सर्वसाधरणले हलचल गर्न नपाएका हुन् । 

कसको सवारी हुँदा कुन तहसम्म सडक बन्द गर्ने भन्ने कुनै स्पष्ट नीति बेगर नै कोशी प्रदेशको राजधानी विराटनगरमा सर्वसाधरणलाई हिँडडुल गर्न रोक लगाएकोमा स्थानीयवासीले आपत्ति जनाएका छन् । 

यतिखेर गृहमन्त्री लेखकसहित नेपालका तीन वटा सुरक्षा निकायका प्रमुखहरू विराटनगर आएका छन् । उनीहरू आएका कारण मंगलबार विराटनगरका ६ स्थानमा भएका कुनै पनि ट्राफिक लाइट बालिएनन् ।

ट्राफिक लाइट तथा सर्वसाधरणलाई आवतजावत बन्द गर्नु उचित नभएको नेपाली कांग्रेस विराटनगरका सभापति दिपक चापागाई बताउँछन् । ‘यो गलत प्रवृत्ति हो, हामी राजा हैनौं जनताले दुःख पाउनु हुँदैन, जनप्रतिनिधि हिँड्दा’ चापागाई भन्छन् ।

कानुनमा उल्लेख नभए पनि स्थानीय प्रहरीले अति चाकरी गर्न लाइट बन्द गरेर गृहमन्त्री र महानिरीक्षकको सवारी चलाएका हुन् ।

मोरङ ट्राफिकको नियन्त्रणमा रहेका लाइट दिनभर बन्द गरिएपछि चोकमा नियमित ड्युटीमा रहने प्रहरीलाई अन्यत्र परिचालन गरिएका थियो । 

विशिष्ट व्यक्तिको सुरक्षामा रहेका सवारीसाधनको लाइन नरोकियोस् भनेर बन्द गर्नुपरेको मोरङका ट्राफिक प्रहरी निरीक्षक राजन लम्सालले बताए ।

विराटनगरको ट्राफिक लाइटको व्यवस्थापनको जिम्मा लिएका लम्सालले त्यसो भने पनि नेपाल प्रहरीको नीति फरक छ । 

‘विशिष्ट व्यक्तिको आवागमनमा ट्राफिक लाइट बन्द नहुनुपर्ने हो, ट्राफिक अनुशासन, नियम सबैका लागि लागु हुन्छ’ नेपाल प्रहरीका केन्द्रीय सूचना अधिकारी तथा वरिष्ठ उपरिक्षक रमेश थापाले भने । 

कुन अवस्थामा ट्राफिक लाइट बन्द गरियो भन्ने बारे सम्बन्धित प्रदेशका प्रहरी प्रमुखलाई जानकारी हुने उनको तर्क छ ।

कोशी प्रदेशका प्रहरी प्रमुख ईश्वर कार्की ट्राफिक लाइट बन्द गर्ने जस्तो प्राविधिक कुरा आफूलाई नभई सम्बन्धित क्षेत्रलाई थाहा हुने बताउँछन् । उनले बताएको प्राविधिक क्षेत्र हेर्ने ट्राफिक प्रहरी हो । 

ट्राफिक प्रहरीका कोशी प्रदेश प्रमुख विनोद घिमिरे विशिष्ट व्यक्तिको स्कर्टिङमा केही समयका लागि मात्रै ट्राफिक लाइट बन्द गर्ने गरिएको बताउँछन् । 

उनले त्यसो भने पनि विराटनगरका कञ्चनबारी, बरगाछी, तीनपैनी, जलजला चोक, भट्टी चोक र रोडशेषका लाइट बन्द भए । 

नियमित सडक प्रयोगकर्ताले रातो बत्ती बल्दा रोक्ने र हरियोमा हिंड्ने संकेत खोजिरहेका थिए । 

सरकारका मन्त्री वा सुरक्षा प्रमुख आउँदा ट्राफिक ब्यवस्थापन गर्ने बत्ती बन्द गरेर दुर्घटना निम्त्यिाइएको विराटनगरवासीको भनाइ छ । 

गृहमन्त्री लेखक मंगलबार बिहान विराटनगर आएदेखि मोरङ कारागारको नयाँ भवनको उद्घाटन, विराटनगर आईसीपीस्थित गोदाम प्रदेश सरकारलाई हस्तान्तरण, नेपाली कांग्रेस पार्टी कार्यालयमा स्थानीय नेता र जनप्रतिनिधिसँगको भेटघाट, मोरङ उद्योग ब्यापार संघको कार्यक्रम, श्याम मन्दिरको अवलोकनसम्म गर्न पुगेका थिए । त्यसपछि बेलुका बासका लागि होटलमा गएका थिए ।

गृहमन्त्रीको सवारी भएका क्षेत्रमा प्रहरीले आवश्यक्ता भन्दा बढी आवागमनलाई प्रभावित पारेको थियो । 

यो अवधिमा सन्तुलित र पारदर्शी ट्राफिक ब्यवस्थापन हुन नसकेको सुरक्षाकर्मीले नै स्वीकार गरेका छन् । ती क्षेत्रमा सडकमा प्रहरीले अति कडाइ गरेको थियो । 

गृहमन्त्री लेखकका प्रेस संयोजक शेरबहादुर सिंहले भने सुरक्षा प्रबन्ध मिलाउने प्रहरीको जिम्मा भएकाले यस्ता विषय सचिवालयलाई थाहा नहुने बताए ।

View : 158

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved