Biratnagar, Morang, Nepal
२४ जेठ २०८३, आइतवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

जीवन विकास सामुदायिक अस्पतालले पूरा गर्यो एक वर्ष

उद्‌घोष संवाददाता
२४ जेठ २०८३, आइतवार

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ हल्दिबारीस्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेसनले स्थापनाको पहिलो वर्ष पूरा गरेको छ । 

अस्पतालले जीवन विकास समाजको सभाहलमा आइतबार एक कार्यक्रमका बीच प्रथम बार्षिकोत्सव मनाएको हो ।

अस्पतालका अनुसार एक बर्षभित्र ८ हजार ५३७ जना विरामीले उपचार सेवा लिएको जनाइएको छ । अस्पतालले भर्खरैमात्र सुविधा सम्पन्न एमआरआई र सिटी स्क्यान मेसिन जडान गरेर सेवा सुचारु गरिसकेको छ । 

अस्पतालका निर्देशक तेजस्वी मण्डलले चाँडै नै मुटु रोगका विरामीको उपचारका लागि क्याथ ल्याब स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए । 

उनले चाँडै आँखा उपचार सेवा समेत सुरु गर्ने बताए । 

बार्षिकोत्सवको अवसरमा अस्पतालको सहायक मेडिकल डाइरेक्टरमा डा. अभिनव श्रेष्ठ र हाडजोर्नी विभागको प्रमुखमा डा. अमरेन्द्र यादवलाई नियुक्त गरिएको जनाइएको छ ।

अस्पताललाई भविष्यमा विश्वस्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्यका साथ पूर्वाधार विकासको काम अघि बढेको जीवन विकास समाजका संस्थापक अध्यक्ष एवं पूर्व सांसद योगेन्द्र मण्डलले बताए । 

उनले त्यसका लागि सवैको साथ सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा जीवन विकास लघुवित्त वित्तीय संस्थाका कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले जीवन विकासले अघि बढाएका हरेक संस्था र संरचनालाई सवैको पहलमा बलियो बनाउँदै लैजाने बताए । 

जीवन विकास समाजकी अध्यक्ष रिबोलदेवी मण्डलको अध्यक्षतामा आयोजित बार्षिकोत्सव कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी लगायतको उपस्थिति थियो ।

View : 48

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved