विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले कोशी प्रदेशका पाँच जनासहित १९ जनालाई पार्टी केन्द्रीय समितिमा सोमबार मनोनित गरेका छन् ।
पूर्वसभापति शेरबहादुर पक्षका १२ जना र डा. शेखर कोइराला पक्षका ७ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका हुन् ।
गएको पुसमा सम्पन्न भएको कांग्रेसको विशेष महाधिवेशनमा देउवा र कोइराला पक्ष सहभागी बनेको थिएन ।
देउवा पक्षका नेता पूर्णबहादुर खड्का र शेखर कोइरालासँग भेटेर सभापति थापाले लामो छलफल गरेपछि उनीहरू पक्षका नेतालाई केन्द्रीय सदस्य मनोनयन गरेका हुन् ।
कोशी प्रदेशबाट मनोनित हुनेमा मोरङकी सुजाता कोइराला, सुनसरीका राजीव कोइराला र राजीव ढुंगाना, उदयपुरकी लक्ष्मी परियार र सोलुखुम्बुका आङ्गेलु शर्पा छन् ।
गिरिजाप्रसाद कोइराला पुत्री सुजाताले विशेष महाधिवेशन लगत्तै गगन नेतृत्वको नयाँ समितिलाई सहयोग गरेर अघि बढ्नुपर्ने बताउँदै आएकी थिइन् ।
शेखर समूहकी मानिने सुजातासहित राजीव कोइराला कोशीबाट केन्द्रीय सदस्यमा परेका छन् । त्यस्तै सुनसरीकै राजीव ढुंगाना, उदयपुरकी लक्ष्मी र सोलुका आङ्गेलु देउवा समूहका हुन् ।
त्यस्तै सप्तरीका दिनेशकुमार यादव पनि मनोनयनमा परेका छन् । विशेष महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष सहभागी नभएपछि पार्टीभित्र सन्तुलन मिलाउने दबाब थियो ।
त्यसैलाई मध्यनजर गर्दै सभापति थापाले दुवै पक्षका नेताहरूलाई समेटेर केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने प्रयास गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालयका अनुसार सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ उपधारा १ बमोजिम महाधिवेशन प्रतिनिधिहरूमध्येबाट उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।
विशेष महाधिवेशनपछि पहिलो पटक गरिएको यो मनोनयनलाई पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ ।
मनोनयन सूचीमा धनुषाका महेन्द्र यादव, कास्कीका जीवन परियार, चितवनका उमेश श्रेष्ठ र दिनेश कोइराला, पर्साका रमेश रिजाल र अजयकुमार चौरसिया, दार्चुलाका दिलेन्द्रप्रसाद बडू, गुल्मीका चन्द्रकान्त भण्डारी, प्यूठानका गोविन्दराज पोखरेल, कैलालीका सुशीला मिश्र भट्ट र डा. जीवन राना, महोत्तरीकी नागिना यादव तथा धादिङकी सीता थपलिया पनि समेटिएका छन् ।
विशेष महाधिवेशनमार्फत १३३ जना केन्द्रीय सदस्य सर्वसम्मत चयन भएका थिए । यो संख्या अब १५२ पुगेको छ ।
View : 139
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved