Biratnagar, Morang, Nepal
१८ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

बदलिएको परिस्थितिमा पुरानै तरिकाले अघि बढेर हुँदैन : प्रचण्ड

उद्‌घोष संवाददाता
१७ असोज २०८३, शनिवार

Advertisement

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको परिस्थितिमा पुरानै तरिकाले अघि बढेर चुनौतीको सामना गर्न नसकिने बताएका छन् ।

शनिबार काभ्रे जिल्लाको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताका अधिकारको पक्षमा संघर्षलाई थप दृढ बनाउनुपर्ने बताए । 

उनले भने, ‘गत वर्ष भदौ २४ गतेको प्रतिगामी विध्वंसपछि देश सहज अवस्थामा अघि बढिरहेको छैन । अहिलेसम्म आइपुग्दा देशलाई असाधारण संकटतर्फ धकेल्ने दुस्प्रयासहरू भइरहेका छन् । यस्तो परिस्थितिमा त्यसका विरुद्ध तथा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हामीले अझ दृढतापूर्वक संघर्ष गर्नुपर्ने अवस्था छ।’

प्रचण्डले बदलिएको परिस्थितिमा सच्चा कम्युनिस्ट शक्तिहरूबीच पार्टी एकता तथा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिबीच सहकार्य आवश्यक रहेको बताए ।

उनले गणतन्त्रपछि केही पनि भएन भन्ने भाष्य तथ्यसँग मेल नखाने दाबी गरे। ‘गणतन्त्र आएपछि केही पनि भएन भन्ने कुरा इतिहास र तथ्यसँग मेल खाँदैन,’ उनले भने, ‘सामन्ती राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा देशलाई रूपान्तरण गर्ने राजनीतिक प्रक्रियामा हामीले महत्वपूर्ण भूमिका खेलेका छौँ।’

आफ्नो नेतृत्वमा सरकारमा रहँदा भएका कामलाई पनि तथ्यका आधारमा मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो । पहिलो कार्यकालमा शान्ति प्रक्रिया संस्थागत गर्ने, गणतन्त्र कार्यान्वयन गर्ने र संविधान निर्माणको आधार तयार गर्ने काम भएको उनले बताए ।

त्यस्तै दोस्रो कार्यकालमा संविधान कार्यान्वयनलाई गति दिने, करिब दुई दशकपछि स्थानीय तहको निर्वाचन गराउने, संघीयताको व्यावहारिक कार्यान्वयन अघि बढाउने र भूकम्पपछिको पुनर्निर्माणलाई तीव्रता दिने काम भएको उनले बताए ।

लोडसेडिङ अन्त्य गर्ने दिशामा निर्णायक काम भएको उल्लेख गर्दै प्रचण्डले नेपाल अहिले वर्षायाममा विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको बताए । पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गलगायत राष्ट्रिय पूर्वाधार आयोजना, सडक विस्तार र पुनर्निर्माणलाई पनि विकास प्रक्रियाको महत्वपूर्ण हिस्सा भएको उनले बताए ।

तेस्रो कार्यकालमा सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेर भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह सुधार, अर्थतन्त्र सुधार तथा राष्ट्रिय हितका विषयलाई प्राथमिकता दिइएको उनको दाबी थियो ।

प्रचण्डले पार्टीभित्र पनि गम्भीर रूपान्तरण आवश्यक रहेको बताए । पछिल्लो केन्द्रीय समिति बैठकले नेतृत्वमा युवाको सहभागिता ५० प्रतिशतसम्म पुर्‍याउने निर्णय गरेको र महाधिवेशनमार्फत वैचारिक बहस तथा पुनर्संरचनाको प्रक्रिया अघि बढाउने निर्णय गरिएको उनले जानकारी दिए ।

उनले कम्युनिस्ट तथा लोकतान्त्रिक शक्तिबीच पार्टी एकता, सहकार्य र कार्यगत एकतालाई अघि बढाउनुपर्ने बताए । आगामी दिनमा सदन र सडकको संघर्षमा सहकार्य गर्दै आवश्यकताअनुसार निर्वाचनमा समेत सहकार्यको आधार निर्माण गर्नुपर्ने उनको भनाइ थियो । 

‘अबको बाटो विगतको उपलब्धिको रक्षा मात्र होइन, कमजोरी सच्याउँदै नयाँ परिस्थितिअनुसार पार्टी, विचार, संगठन र नेतृत्वलाई रूपान्तरण गर्ने बाटो हो,’ उनले भने ।

View : 21

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved