सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ २ लाख ३१ हजार ८ सय ३३ रुपैयाँ सहयोग गरेको छ ।
क्याम्पसले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो । विपद्का कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै नागरिकहरू प्रभावित बनेपछि राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले क्याम्पसले आर्थिक सहयोग गरेको जनाएको छ ।
सामुदायिक क्याम्पस भएकाले आफ्नै आर्थिक तथा प्रशासनिक चुनौतीहरू रहेपनि विपद्को समयमा पीडित नागरिकप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्न सहयोग गरिएको क्याम्पसले जनाएको छ ।
क्याम्पस प्रमुख अर्जुनराज अधिकारीका अनुसार विपद् जुनसुकै ठाउँमा भए पनि त्यसबाट प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व हो ।
क्याम्पसको सीमित स्रोतसाधनका बाबजुद विपदमा परेका नागरिकलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग रकम प्रदान गरिएको उनले बताए ।
उनले सामुदायिक क्याम्पसहरू आर्थिक रूपमा विभिन्न चुनौतीसँग जुधिरहेको अवस्थामा पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै मानवीय सहयोगका कार्यमा सहभागी हुनुपर्ने बताए ।
सुकुना बहुमुखी क्याम्पसले विगतमा पनि विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्दै आएको जनाइएको छ ।
View : 66
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved