विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट स्कुलका कक्षा १२ का विद्यार्थीहरूले मोरङको लेटाङ–१ स्थित राजारानी क्षेत्रमा शैक्षिक हाइकिङ (पदयात्रा) गर्दै प्रकृति, इतिहास, जैविक विविधता र धार्मिक सद्भावबारे प्रत्यक्ष अध्ययन गरेका छन् ।
शनिबार आयोजित भ्रमणका क्रममा विद्यार्थीहरूले राजारानी ताल, पानी सिमालीका रूख, सुनाखरीका विभिन्न प्रजाति तथा लेटाङ नगरपालिकाले निर्माण गरेको अन्तरधार्मिक पार्कको अवलोकन गरेका थिए ।
राजारानी सामुदायिक वनका अध्यक्ष सुजन मगरले क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पर्यावरणीय महत्वबारे जानकारी गराएका थिए ।
लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र लावती र उपप्रमुख कृष्णकुमारी निरौलाले विद्यार्थीहरूलाई स्वागत गर्दै राजारानी क्षेत्रको पर्यटन, जैविक विविधता तथा वातावरणीय महत्वबारे जानकारी दिएका थिए ।
नगर प्रमुख लावतीले राजारानी साइबेरियाबाट आउने चराको विश्रामस्थल, दुर्लभ वनस्पति तथा अनुसन्धानका दृष्टिले महत्वपूर्ण क्षेत्र बन्दै गएको बताए ।
उपप्रमुख निरौलाले लेटाङ प्राकृतिक सम्पदासँगै सुन्तला, कफी र चिया उत्पादनका लागि पनि परिचित रहेको उल्लेख गरिन् ।
विद्यालयका प्रँचार्य टिकाराम पुरीले शैक्षिक भ्रमणलाई मनोरञ्जनमा सीमित नराखी व्यवहारिक सिकाइसँग जोड्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको बताए ।
उनले राजारानी क्षेत्रको पूर्वाधार विकास र प्रभावकारी प्रचारप्रसार भए पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुने विश्वास व्यक्त गरे ।
विद्यार्थीहरूले पनि भ्रमणबाट प्रकृति संरक्षण, जैविक विविधता, स्थानीय इतिहास तथा सामाजिक सद्भावबारे कक्षाकोठाभन्दा बाहिरको महत्वपूर्ण ज्ञान हासिल गरेको बताएका छन् ।
View : 55
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved