विराटनगर । उद्योग संगठन मोरङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रभावशाली वक्ता मनिष झासँग बुधबार उद्योग–व्यवसाय क्षेत्रका समसामयिक समस्या र आर्थिक गतिविधि विस्तारका विषयमा छलफल गरेको छ ।
संगठनका अध्यक्ष नन्दकिशोर राठीले उद्योग तथा व्यवसाय क्षेत्र मुलुकको अर्थतन्त्रका प्रमुख आधारस्तम्भ भएको भन्दै यस क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताए ।
उनले उद्योग–व्यवसाय क्षेत्रले उठाउँदै आएका समस्या सम्बन्धित मन्त्री तथा सरकारका सम्बन्धित निकाय समक्ष प्रभावकारी रूपमा राखिदिन सांसद झासँग आग्रह गरे ।
निजी क्षेत्रले उठाएका विषयलाई केवल उद्योगी–व्यवसायीको समस्याका रुपमा मात्रै नलिई उत्पादन, रोजगारी, राजस्व र समग्र आर्थिक वृद्धिसँग जोडिएको विषयका रूपमा सरकारले ग्रहण गर्नुपर्ने निजी क्षेत्रको अपेक्षा रहेको बताए ।
नीतिगत स्थिरता, पूर्वानुमान योग्य कानुनी व्यवस्था र लगानीमैत्री वातावरण निर्माण गर्न माग गरे ।
रास्वपा सांसद् झाले उद्योग तथा व्यवसाय क्षेत्र मुलुकको अर्थतन्त्रका महत्वपूर्ण स्तम्भ भएको बताए । त्यही भएर निजी क्षेत्रले उठाएका विषयहरूलाई आफूले गम्भीरतापूर्वक लिएको बताए ।
उनले उद्योगी–व्यवसायीले उठाएका समस्या सरकारका सम्बन्धित निकायमा राखी समाधानका लागि आवश्यक पहल गर्ने समेत प्रतिवद्धता जनाए ।
सांसद झाले निजी क्षेत्रको लगानी र मनोबल बढाउनका साथै उद्योग–व्यवसाय क्षेत्रको समस्या समाधानमा आफूले सहजीकरण गर्नेमा निजी क्षेत्रलाई आश्वस्त रहन आग्रह गरे । उनले जलविद्युत्, पर्यटन, कृषि तथा उत्पादनमूलक उद्योगमा रहेको सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।
छलफलका क्रममा संगठनका पूर्वअध्यक्ष राकेश सुरानाले नेपालको अर्थतन्त्रको दिगो विकासका लागि कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरणको कामलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
उनले कृषि उत्पादन लागत घटाउने, प्रविधिको प्रयोग बढाउने, सिंचाइ तथा भण्डारण पूर्वाधार विस्तार गर्ने र कृषि उत्पादनलाई उद्योग तथा बजारसँग जोड्ने नीति आवश्यक रहेको बताए ।
सो छलफलमा उद्योगी–व्यवसायीहरूले बैंकिङ प्रणालीमा रहेको तरलतालाई उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्ने, बजारको माग बढाउने, कर तथा राजस्व नीतिमा स्थिरता कायम गर्ने, विद्युत महशुलमा लगाएको भ्याट हटाउने, सडक तथा ढुवानी पूर्वाधार सुधार गर्ने र निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने विषयमा सरकारको ध्यान जानुपर्नेमा जोड दिएका थिए ।
View : 49
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved