Biratnagar, Morang, Nepal
२६ वैशाख २०८१, बुधवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

कोशी प्रदेश राष्ट्रिय महिला टिम लिग छनोटको शीर्ष स्थानमा

उद्घोष सम्वाददाता
१३ वैशाख २०८१, बिहिवार

सुनसरी । गण्डकीमाथि ३–० को सहज जित निकाल्दै कोशी प्रदेश टिम राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको शीर्ष स्थानमा पुगेको छ ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा बुधबार बिहान भएको खेलमा कोशीले गण्डकी प्रदेशलाई पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ ।

यसअघि सुदूरपश्चिम प्रदेश विरुद्ध २–१ तथा कर्णालीमाथि ३–० को जित निकालेको कोशी टिम ९ अंकका साथ शीर्ष स्थानमा पक्कड जमाउन सफल बनेको हो ।

दोस्रो स्थानमा रहेको सुदूरपश्चिम र मधेस प्रदेशको समान ३–३ अंक छ ।

कोशीलाई बुधबार सतप्रतिशत जित दिलाउन समीक्षा मगरले दुई र ममता राउतले एक गोल गरिन् ।

पहिलो हाफको सुरुवाती पाँचौ मिनेटमा जोनिफर राणाले प्रहार गरेको कर्नर बललाई हेडमार्फत समीक्षाले पोष्टको दिशा दिएकी थिइन् ।

खेलको ५१ औं मिनेटमा समीक्षाले नै उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै ममताले कोशी प्रदेशको लागि दोस्रो गोल गरिन् ।

खेलको अन्तिम ८९ औं मिनेटमा ममता तामाङको क्रस बललाई समीक्षाले हेडमार्फत उत्कृष्ट गोल गरेपछि कोशीले ३–० को स्पष्ट जित निकालेको हो ।

यसअघि सुदुरपश्चिमविरुद्धको खेलमा समेत दुई गोल गरेकी समीक्षा  प्लेयर अफ द म्याच समेत भइन् ।

तीन खेलमा चार गोल गरेकी उनी सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन् ।

तीन साताअघि चितवनको भरतपुरमा भएको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको आफ्नो पहिलो खेलमा कोशीले गण्डकीमाथि ८–० को फराकिलो जित निकालेको थियो ।

सात वटै प्रदेश टिमले सहभागिता जनाएको राष्ट्रिय लिग छनोटमा कोशीले अब शुक्रबार लुम्बिनी, आइतबार मधेश र बुधबार बागमती प्रदेशसँग प्रतिष्पर्धा गर्ने प्रशिक्षक श्याम मानन्धरले जानकारी दिए ।

सिंगल राउण्ड रोविनका आधारमा हुने प्रतियोगिता बैशाख २० गतेसम्म चल्नेछ । छनोट खेलबाट शीर्ष तीन स्थानमा रहने टोली राष्ट्रिय महिला लिगमा छनोट हुने छन् ।

यसरी छनोटबाट आएका शीर्ष ३ प्रदेश र ३ विभागीय टोली आर्मी, पुलिस र एपीएफ गरी ६ टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्ने छन् ।

View : 75

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved