Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

सोमराज अभयको महाकाव्य ‘शेषराज दाइ’ लोकार्पण

मोरङका सर्वाधिक महाकाव्यकार अभयको चौथो कृति; समालोचकद्वारा 'वैचारिक यथार्थ' को कदर ।
उद्‌घोष संवाददाता
२५ कार्तिक २०८२, मङ्गलवार

विराटनगर ।  महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्तीको पूर्वसन्ध्यामा छन्दवाटिका नेपालको आयोजनामा महाकाव्यकार सोमराज अभयको चौथो कृति ‘शेषराज दाइ’ भव्य समारोहका बीच बुधबार लोकार्पण भएको छ ।
छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेलको अध्यक्षतामा प्राडा. टङ्क न्यौपानेकोलगायत उपस्थित भाषाविद र साहित्यकारहरुले संयुक्त रूपमा कृतिको विमोचन गरिएको हो ।

विमोचित कृतिको टिप्पणी गर्दै समालोचक डा. दीपक न्यौपानेले ‘शेषराज दाइ’ कृति वैचारिक र समाजले भोगेको समयको यथार्थको धरातलमा आएको बताए । उनले भने, ‘महाकाव्यको भाषाशैली परम्परागत भए पनि कृति कथा र विचारका दृष्टिले उत्कृष्ट छ ।’

कृतिका बारेमा बोल्दै प्राडा हरिहर भण्डारीले सोमराज अभय मोरङ जिल्लामा सबैभन्दा बढी महाकाव्य लेख्ने कवि भएको उल्लेख गरे । एघार सर्गहरू रहेका सो कृति महाकाव्यकार अभयको चौथो महाकाव्य हो ।

कार्यक्रममा प्राज्ञ विवश पोखरेल, प्राडा मेदिनी शर्मा नेपाल,  प्राध्यापक कविराज न्यौपाने, प्रगतिवादी साहित्यकार रामप्रसाद खरेल, बालकृष्ण पोखरेल  प्रतिष्ठानका अध्यक्ष डा देवी पन्थी, स्वर संगम संगीतालयका अध्यक्ष कुशेश्वर राई, डा नरेन्द्र चापागाई प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईंलगायत अग्रज साहित्यकारहरू बलराम पोखरेल, डमरुबल्लभ भण्डारीको उपस्थिति थियो ।

छन्दवाटिका नेपालले संस्था स्थापनाकालदेखि नै महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन (कात्तिक २७ गते) लाई आधार मानेर विभिन्न साहित्यिक कार्यक्रमहरू गर्दै आएको छ । कार्यक्रममा इटहरी, बेलबारी, सुन्दरहरैंचा, इनरुवा र विराटनगरका साहित्यकारहरूको बाक्लो उपस्थिति थियो ।
 

View : 332

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved