Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

यति एयर चढेर विराट क्यान्सर इन्स्टिच्युटमा उपचारका लागि आए टिकट ‘फ्रि’

उद्घोष सम्वाददाता
२८ फागुन २०८०, सोमवार

विराटनगर । काठमाडौंबाट यति एयरको प्लेन चढेर विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तरगतको विराट क्यान्सर इन्स्टिच्युटमा क्यान्सरको उपचारका लागि आउने बिरामीलाई प्लेन टिकट फ्रि हुने भएको छ ।

यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्ट र विराट क्यान्सर इन्स्टिच्युटका उपाध्यक्ष डा. निकिता कार्कीबीच सोमबार निःशुल्क हवाई टिकट प्रदान गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।

यती एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याएको जनाइएको छ । 

एयरलाइन्सका चिफ बिजनेस अफिसर विष्टले यस्तो सुविधाले क्यान्सरसँग लडिरहेका बिरामीलाई थप उत्प्रेरणा मिल्नेमा आफूहरू विश्वस्त रहेको बताए । उनले निःशुल्क हवाई टिकट पूर्वमा मात्र नभई नेपालभरिकै क्यान्सरका बिरामीहरूले उपभोग गर्न पाउने जानकारी दिए । 

निःशुल्क टिकट प्राप्त गर्न बिरामीले आवश्यक कागजातसहित विराट क्यान्सर इन्स्टिच्युटमा सम्पर्क गर्नुपर्ने जनाइएको छ । अस्पतालका विशेषज्ञ चिकित्सकहरूले कागजातहरूको आधारमा क्यान्सरको बिरामी भएको प्रमाणपत्र/ परिचयपत्र उपलब्ध गराउने र उपचारका लागि आउनुपूर्व टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको विराट क्यान्सर इन्स्टिच्युटका उपाध्यक्ष डा. कार्कीले बताए । 

‘बिरामीहरूले डाक्टरको अपोइन्टमेन्ट लिनु हुँदा टिकट बुकिङका लागि अस्पतालको नम्बर ९८५२०४४२६६ मा सिधै सम्पर्क गर्न सक्नुहुनेछ’ डा. कार्कीले भने ।

यात्रुले विमानस्थलमा चेक– इन गर्दा यती एयरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको बिरामी प्रमाणित गरिएको परिचयपत्र पेश गर्नुपर्ने एयरलाइन्सले जनाएको छ ।

नेपालभरिकै क्यान्सर बिरामीहरूलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यती एयरलाइन्स र विराट क्यान्सर इन्स्टिच्युटबिच सम्झौता भएको हो ।

विराट क्यान्सर इन्स्टिच्युटमा रेडिएसन थेरापी, मेडिकल अङ्कोलोजी, किमोथेरापी, टार्गेट थेरापी, इम्युनो थेरापी, हर्मोनल थेरापी, सर्जिकल अङ्कोलोजी (महिला, पुरुष तथा बालबालिका) रेडियो–डाइग्नोसिस्, इन्टरभेन्सनल रेडियोलोजी, स्टेरियोट्याक्टिक मेमोग्राफी, प्रिभेन्टीभ अन्कोलोजी सेवा सञ्चालन हुँदै आएको जनाएको छ । 

यसैगरी, प्रिभेन्टिभ अंकोलोजी, प्यालिएटीभ केयर, प्याथोलोजी विभाग, आहार तथा पोषणविद्‍द्वारा परामर्श लगायतका सेवाहरू उपलब्ध रहेको जनाइएको छ ।

View : 204

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved