विराटनगर । वातावरणका लागि गम्भीर चुनौती बन्दै गएको विद्युतीय फोहोर (इ-वेस्ट) बाट बहुमूल्य र दुर्लभ धातु पुनःप्राप्त गर्ने प्रविधि विकासमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका वैज्ञानिकहरू सफल भएका छन् ।
त्रिभुवन विश्वविद्यालय, अनुसन्धान निर्देशनालयअन्तर्गत अनुसन्धान समन्वय तथा विकास परिषद्को तीन वर्षे 'उत्कृष्टता अनुसन्धान अनुदान' अन्तर्गत सञ्चालित यो अनुसन्धान परियोजना सम्पन्न गरी बुधबार एक विशेष समारोहबीच अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको हो ।
"विद्युतीय फोहोरबाट वातावरणमैत्री चिरल कार्यात्मक आयनिक तरल पदार्थ प्रयोग गरी दुर्लभ माटोका धातुका आयनको दिगो पुनःप्राप्ति" शीर्षकको यस तीन वर्षे अनुसन्धानको मुख्य उद्देश्य विद्युतीय उपकरणबाट निस्कने फोहोरमा रहेका दुर्लभ माटोका धातुका आयनलाई वातावरणमा कम असर पार्ने प्रविधिको प्रयोग गरी पुनःप्राप्त गर्नु रहेको थियो ।
आधुनिक विद्युतीय तथा इलेक्ट्रोनिक उपकरणको प्रयोग बढेसँगै उत्पन्न हुने फोहोरबाट उपयोगी तथा मूल्यवान् धातु पुनःप्रयोगका लागि निकाल्ने प्रविधि विकास गर्नु यस अनुसन्धानको महत्त्वपूर्ण पक्ष रहेको छ ।
परियोजनाको प्रमुख अनुसन्धानकर्ताका रूपमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको रसायनशास्त्र विभागका प्राध्यापक डा. अजय भट्टराई रहेका छन् भने सह-अनुसन्धानकर्ताका रूपमा डा. सुजितकुमार शाह र भारतको प्रसिद्ध भारतीय प्रविधि संस्थान मद्रास, चेन्नईका प्राध्यापक डा. रमेशलक्ष्मी गर्दास संलग्न थिए ।
त्यस्तै, डा. रोहितकुमार देव पोष्ट पीएचडी तहका अनुसन्धानकर्ताका रूपमा तथा महिमा कोइराला, निशा मगर, रिजन गिरी र सिर्जना घिमिरे स्नातकोत्तर तहका विद्यार्थीका रूपमा अनुसन्धानमा निरन्तर क्रियाशील थिए ।
तीन वर्षको अनुसन्धानबाट फालिएका ब्याट्री तथा विद्युतीय फोहोरबाट लिथियम, निकेल र प्लेटिनमजस्ता दुर्लभ तथा बहुमूल्य धातु प्राप्त गर्न सफलता मिलेको अनुसन्धानकर्ता सिर्जना घिमिरेले जानकारी दिइन् ।
कुल ३० लाख ५० हजार रुपैयाँ बजेट रहेको यस अनुसन्धान परियोजनाको व्यवस्थापनका लागि क्याम्पस प्रमुख डा. रामअवतार शरणको अध्यक्षतामा एक समिति गठन गरिएको थियो ।
उक्त समितिमा सहायक क्याम्पस प्रमुख उमेशप्रसाद यादव र लेखा प्रमुख भूपेन्द्र राणा सदस्य, प्रमुख अनुसन्धानकर्ता प्रा.डा. अजय भट्टराई सदस्य-सचिव तथा रसायनशास्त्र विभाग प्रमुख डा. अशोककुमार दास संरक्षकका रूपमा रहेका थिए ।
त्रिभुवन विश्वविद्यालयको अनुसन्धान निर्देशनालयबाट प्राप्त उत्कृष्टता अनुसन्धान अनुदानले विराटनगरमै रसायनशास्त्र तथा वातावरणसँग सम्बन्धित उच्चस्तरीय अनुसन्धानलाई अघि बढाउन ठूलो सहयोग पुगेको क्याम्पसका निमित्त प्रमुख डा. सुशील अधिकारीले बताए।
प्रयोगशालाको अनुसन्धानमा सफलता मिले पनि यसलाई औद्योगिक तथा व्यावसायिक रूपमा अघि बढाउन ठूलो लगानी आवश्यक पर्ने प्रमुख अनुसन्धानकर्ता प्रा.डा. अजय भट्टराईले बताएका छन् ।
स्थानीय स्तरमा फालिएका ब्याट्री र विद्युतीय फोहोर ठूलो मात्रामा हुने भएकाले त्यसबाट व्यावसायिक रूपमा दुर्लभ धातु निकाल्न ठूलो रकम र पूर्वाधार चाहिने र राज्य वा निजी क्षेत्रले यस्ता कार्यमा लगानी गर्न सके मुलुकलाई आर्थिक रूपमा ठूलो फाइदा पुग्ने धारणा प्रा.डा. भट्टराईले व्यक्त गरे ।
View : 187
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved