Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

निवर्तमान मुख्यमन्त्री कार्कीद्वारा सर्वोच्चमा रिट दायर

उद्घोष सम्वाददाता
२७ वैशाख २०८१, बिहिवार

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठन प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । कार्कीले बिहीबार वारेस मार्फत सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

दायर भएको रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान, सूचना, निर्णय एवं पत्राचारहरू कार्यन्वयन नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ । 

प्रदेश प्रमुखले असंवैधानिक रुपमा सरकार गठनको आह्वान गरेको आधारमा हिक्मतकुमार कार्कीले दाबी पेश गरेको र नियुक्त गरिएको भन्दै कार्कीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा कुनै काम कारवाही नगर्न नगराउन तथा आफूलाई यथावत रुपमा जिम्मेवारी वहन गर्न कुनैपनि व्यवधान नगर्न नगराउन रिट निवेदनमा माग गरिएको छ ।

रिटमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, संकल्प प्रस्तावका प्रस्तावक रेवतीरमण भण्डारी, समर्थकहरू गणेशप्रसाद उप्रेती, किशोरचन्द्र दुलाल र नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई विपक्षी बनाइएको छ । 

रिटको पेश शुक्रबार तोकिएको जनाइएको छ ।

 

View : 53

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved