विराटनगर । विराटनगरमा नेपालकै सबैभन्दा ठूलो काँवर यात्राको तयारी पूरा भएको छ ।
विराटनगर–८, मधुमारा थानगाछीस्थित बटकेश्वर महादेव मन्दिरबाट साउन १८ गते सोमबार ‘महाकाँवर यात्रा’ आयोजना गर्न लागिएको हो । सो अवसरका लागि ४१ फिट लामो विशाल काँवर निर्माण गरिएको छ ।
भगवती थान, बटकेश्वर महादेव मन्दिर परिवारको आयोजनामा हुन लागेको सोे काँवर यात्रा आठौं संस्करण हो ।
महाकाँवर यात्रा आयोजक समितिका संयोजक राघव सहनीले २०७६ सालमा २६ फिट लामो बाँसको काँवरबाट सुरु गरिएको यो यात्रालाई हरेक वर्ष विस्तार गर्दै लगिएको बताए ।
उनका अनुसार यसपटकको ४१ फिट लामो महाकाँवरमा १ सय लिटर पवित्र जल राखिनेछ र सो काँवरलाई ३६ जना भक्तजनले एकैपटक काँधमा बोकेर नगर परिक्रमा गराउने कार्यक्रम छ ।
काँवर यात्रामा सहभागी भक्तजनहरूले विराटनगर आसपासका सिंघिया, केसलिया, बुढीगंगा र लोहन्द्रा नदीबाट ल्याएको पवित्र जल बटकेश्वर महादेव मन्दिरमा संकलन गर्नेछन् ।
धार्मिक विधिअनुसार उक्त जल शुद्धीकरण गरिसकेपछि सोमबार बिहान ९ बजेदेखि यात्रा प्रारम्भ हुनेछ ।
महाकाँवर यात्राको उद्घाटन कोशी प्रदेश सरकारका वन तथा पर्यटन मन्त्री भीम पराजुलीले गर्ने कार्यक्रम छ ।
बटकेश्वर महादेव मन्दिरबाट सुरु हुने यात्रा पञ्चमुखी हनुमान मन्दिर र तीनपैनी हुँदै बरगाछीस्थित बासुकीनाथ मन्दिर पुगेर टुंगिनेछ । त्यहाँ भगवान शिवलाई पवित्र जल अर्पण (जलाभिषेक) गरिनेछ भने तत्पश्चात् महाप्रसाद वितरण गरिनेछ ।
धार्मिक आस्था, सामाजिक सद्भाव, सनातन संस्कृति तथा हिन्दू धर्मको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष यो यात्रा आयोजना हुँदै आएको छ ।
विराटनगरको यो महाकाँवर यात्रा नेपालकै सबैभन्दा ठूलो काँवर यात्राको रूपमा स्थापित भइसकेको आयोजक समितिको दाबी छ ।
View : 42
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved