विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. सुजन बाबु मरहट्टाले सोमबार पदभार ग्रहण गरेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा २४ को उपदफा (२) बमोजिम गठित समितिको सिफारिसमा प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति बालेन्द्र शाहको २०८३ असार १९ गतेको निर्णयानुसार उपकुलपति पदमा नियुक्त भएका प्रा.डा. मरहट्टाले सोमबार एक विशेष कार्यक्रमका साथ पदभार ग्रहण गरेका हुन् ।
विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा आयोजित समारोहमा विश्वविद्यालयका पदाधिकारीहरू एवम् केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको प्रारम्भमा विश्वविद्यालयका प्रशासकले नियुक्तिपत्र वाचन गरेका थिए । निवर्तमान उपकुलपति प्रा.डा. बिजु कुमार थपलियाले नवनियुक्त उपकुलपति प्रा.डा. मरहट्टालाई औपचारिक रूपमा पदस्थापन गराए ।
सो अवसरमा रजिष्ट्रार डा. रमेशबाबु काफ्ले र निवर्तमान उपकुलपति प्रा.डा. थपलियाले नवनियुक्त उपकुलपतिलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका छन् ।
साेही अवसरमा निवर्तमान उपकुलपति थपलियालाई विश्वविद्यालयले औपचारिक बिदाइ गरेको छ ।
बिदाइ कार्यक्रममा परीक्षा नियन्त्रक प्रा. वालेन्दु हमाल, व्यवस्थापन संकायका डीन प्रा.डा. उत्तम कुमार रेग्मी र रजिष्ट्रार डा. रमेशबाबु काफ्लेले आ–आफ्नो मन्तव्य राखेका थिए ।
मन्तव्यका क्रममा उनीहरूले निवर्तमान उपकुलपतिको सफल कार्यकालको स्मरण गर्दै विश्वविद्यालयको उन्नयन र प्राज्ञिक विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गरेका थिए । साथै, उनीहरूले नवनियुक्त नेतृत्वसँग पूर्ण सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् ।
पदभार ग्रहण गर्दै कार्यक्रमको अध्यक्षता गरेका नवनियुक्त उपकुलपति प्रा.डा. सुजन बाबु मरहट्टाले पूर्वाञ्चल विश्वविद्यालयलाई समयसापेक्ष, प्रविधिमैत्री र गुणस्तरीय उच्च शिक्षाको अग्रणी केन्द्रका रूपमा रूपान्तरण गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।
उनले विश्वविद्यालयको प्राज्ञिक क्यालेन्डरलाई व्यवस्थित बनाउँदै समयमै परीक्षा सञ्चालन र परीक्षाफल प्रकाशन गर्ने कार्यलाई आफ्नो प्राथमिक कार्यसूचीमा राख्ने उद्घोष गरेका छन् ।
आफूलाई विश्वास गरेर यो गरिमामय जिम्मेवारी सुम्पिएको भन्दै कुलपति एवं प्रधानमन्त्री बालेन्द्र शाहप्रति उनले आभार व्यक्त गरे । विश्वविद्यालयका पूर्ववर्ती सकारात्मक कामकारबाही र दूरगामी योजनाहरूलाई निरन्तरता दिँदै युगको माग अनुसार नयाँ आयामहरू थप गर्दै लैजाने स्पष्ट पारे ।
उनले विश्वविद्यालयभित्र आन्तरिक सुशासन कायम गर्न, अनुसन्धानमूलक शिक्षालाई बढावा दिन र संस्थागत विकासका लागि सम्पूर्ण प्राध्यापक, पदाधिकारी, कर्मचारी तथा विद्यार्थी वर्गसँग सहकार्य र सामूहिक भावनाका साथ अघि बढ्ने दृढता व्यक्त पनि गरेका छन् ।
View : 137
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved