Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

सहायक प्रजिअको कोठामा चिटको थुप्रो

उद्‌घोष संवाददाता
२३ वैशाख २०८३, बुधवार

Advertisement

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको कार्यकक्ष मंगलबार असामान्य दृश्यले भरिएको थियो । 

कोठाको भुईंमा कागजका साना–ठूला टुक्रा, गाइड, गेसपेपर तथा नोटबुकका च्यातिएका पानाहरूको ठूलो थुप्रो थियो, जसले त्यहाँ पुगेका सेवाग्राहीको ध्यान खिचिरहेको थियो । 

कार्यालयमा आएका अधिकांश सेवाग्राहीको नजर उक्त कागजको थुप्रोमा केन्द्रित थियो । कसैले जिज्ञासा राखे र कसैले मौन भएर अवलोकन मात्रै गरे ।

कोइरालाको कार्यकक्षमा पुगेका विराटनगर जुट मिल्सका अध्यक्ष नन्दलाल देवकोटा, निर्वतमान अध्यक्ष राजेन्द्र कार्की र पूर्व अध्यक्ष निलहरि काफ्लेसमेत सो दृश्य देखेर चकित बनेका थिए ।

सहायक प्रजिअ कोइरालाले उद्घोष प्रतिनिधिलाई दिएको जानकारी अनुसार ती सबै कागजका टुक्रा कक्षा १२ को परीक्षामा प्रयोग गर्न ल्याइएका ‘चिट’ हुन् । अर्थात विद्यार्थीले परीक्षामा सार्न ल्याएका सम्भावित उत्तरहरु हुन् ।

‘विराटनगरका चार वटा विद्यालयका विद्यार्थीबाट एकै दिन फेला परेको चिट हो यो,’ उनले भने ।

हाल कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको सन्दर्भमा कोइराला मंगलबार अर्थशास्त्र विषयको परीक्षाको अनुगमनमा परीक्षा केन्द्रहरुमा पुगेका थिए ।

अनुगमनका क्रममा चार  वटा विद्यालयबाट करिब चार झोला बराबरका चिट बरामद गरेर अन्यत्र नछाडि कार्यालयमै ल्याएको उनले बताए । तर, चिट फेला परेका विद्यार्थीलाई कारबाही भने गरिएको छैन ।

चिट माग्न जाँदा विद्यार्थीलाई लेख्न र परीक्षा दिन असहज नहोस् भनेर पनि उनले सजगता अपनाइएको बताए । कोइरालाका अनुसार अनुगमनका क्रममा विद्यार्थीलाई पहिले नै सचेत गराइने गरिएको छ ।

‘परीक्षा हलमा गएर ‘यदि चिट छ भने यो झोलामा हाल्नुस्, पछि भेटिए कारबाही हुन्छ’ भनेर आग्रह गर्छौं,’ उनले भने, ‘त्यति भनेपछि विद्यार्थीले लुकाएका सबै चिट आफैं निकालेर बुझाउँछन् ।’ 

मोरङ जिल्लाभर हाल ६२ विद्यालयमा कक्षा १२ को परीक्षा सञ्चालन भइरहेकाले नियमित अनुगमन जारी रहेको प्रशासनले जनाएको छ ।

परीक्षा स्वच्छ, मर्यादित र व्यवस्थित बनाउन प्रशासनले कडाइका साथ निगरानी बढाएको बताइएको छ । परीक्षा केन्द्रमा बाहिरबाट प्रभाव नपरोस् भनेर प्रहरी परिचालन गरिएको छ ।

View : 170

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved