Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

पशु क्वारेन्टाइन कार्यालयद्वारा एक वर्षमा चार हजार पाँच सय किलो अवैध माछा नष्ट

उद्घोष सम्वाददाता
२३ चैत २०८०, शुक्रवार

विराटनगर । पशु क्वारेन्टाइन कार्यालय विराटनगरले एक वर्षको अवधिमा चार हजार पाँच सय ८० किलो अवैध माछा नष्ट गरेको छ । भारतबाट अवैधमा रुपमा आयात गरिएको माछा क्वारेन्टाइन कार्यालयमा परीक्षण गर्दा खान अयोग्य भएका कारण नष्ट गरिएको जनाइएको छ ।

शुक्रबार आयोजित सुरक्षा निकाय तथा सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रममा कार्यालयका प्रमुख डा. मुकेश मणिक सिंहले कार्यालय अन्तरगतका तीनवटा क्वारेन्टाइन चेकपोष्टबाट अवैध रुपमा भित्र्याइएका अवैध पशुपंक्षी, त्यसको मासु र कृषि वस्तुहरू नष्ट गरिएको जानकारी दिए ।

उनले खुला सीमानाका कारण अवैध रुपमा अखाद्य वस्तुहरू आउने गरेका कारण कार्यालयको न्यून जनशक्तिका बावजुद परीक्षणलाई तिव्रता दिइएको बताए । उनले कुखुराको अवैध मासु ३ हजार ५५८ किलो, राँगाको मासु ३ क्विन्टल, माछाको सिद्रा ६६० किलो र कपाल ७८ किलो नष्ट गरेको बताए ।

कार्यालयले दण्ड जरिवाना वापत ४ लाख ६२ हजार ५०० रुपैयाँ असुल गरेको बताए । पशु क्वारेन्टाइन कार्यालय विराटनगर अन्तरगत रानी क्वारेन्टाइन चेकपोष्ट, भन्टाबारी चेकपोष्ट र सिरहाको माडर चेकपोष्ट रहेको जनाइएको छ । तर कार्यालयमा प्राविधिक जनशक्ति समेत न्यून रहेका छन् । 

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले अस्वस्थ चिजवस्तु आयात भएको खण्डमा मानव स्वास्थ्यमै असर पर्ने भएकोले चेकपोष्टबाट नियमित रुपमा कृषि तथा पशुपंक्षीजन्य वस्तुको परीक्षण हुनुपर्ने बताए ।

उनले अवैध रुपमा हुने अखाद्य वस्तुको आयातलाई रोक्नका लागि सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बलसँग सहकार्य गर्दै रोकथाममा भूमिका खेल्न सरोकारवाला पक्षलाई आग्रह गरे ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी पशुपंक्षी विकास महाशाखा प्रमुख बरिष्ठ पशु चिकित्सक डा. दिपा ज्ञवालीले दूधजन्य वस्तुको आयातलाई निरुत्साहित गर्न सरकारले नीतिगत व्यवस्था गरेको र त्यसको कार्यन्वयन पनि उपलब्धिमूलक रहेको बताइन् ।

व्यवसायी क्षेत्रका प्रतिनिधिहरूले माछा, माछाको दाना, कुखुराको मासुजन्य वस्तुको आयात अवैध रुपमा हुने गरेका कारण किसानहरूलाई ठुलो मर्का परिरहेको गुनासो गरेका थिए ।

उनीहरूले सुरक्षा निकायले अझ प्रभावकारी रुपमा सीमा नाकामा निगरानी गरिदिएर चोरीपैठारी नियन्त्रणमा मद्दत गर्नुपर्नेमा जोड दिएका थिए ।

View : 118

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved