विराट मेडिकल कलेजका विद्यार्थीहरुमा इन्फ्लुएन्जा–ए संक्रमण देखिएपछि पीपीई र एन ९५ मास्क उपलब्ध गराउँदै मन्त्रालयको अनुगमन टोली । तस्वीर : स्वास्थ्य मन्त्रालय
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका विद्यार्थीहरूमा इन्फ्लुएन्जा–ए भाइरसको संक्रमण देखिएको छ ।
‘इन्फ्लुएन्जा–ए’ को संक्रमण बढेपछि कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रदेश सचिव डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा गएको एक टोलीले आइतबार संक्रमण नियन्त्रणका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), एन ९५ मास्क लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
मन्त्रालयको टोलीले संक्रमण नियन्त्रण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन अस्पताललाई निर्देशनसमेत दिएको छ ।
‘इन्फ्लुएन्जा–ए’ मानिसको श्वासप्रश्वास प्रणालीलाई असर गर्ने अत्यधिक संक्रामक भाइरल संक्रमण हो ।
यसले नाक, घाँटी र फोक्सोमा आक्रमण गर्ने गर्दछ । यो मानिससँगै चरा तथा अन्य जनावरमा पनि संक्रमण हुने गर्दछ ।
यसको एच१एन१ र एच३एन२ उप–प्रजातिले बेलाबेलामा महामारीकै रूपसमेत लिने गरेको छ ।
अस्पताल अनुगमनका क्रममा उपचारमा संलग्न प्राध्यापक तथा चिकित्सकहरूसँग संक्रमणको वर्तमान अवस्था, उपचार प्रक्रिया तथा आवश्यक व्यवस्थापनका विषयमा विस्तृत जानकारी लिइएको मन्त्रालयले जनाएको छ ।
इन्फ्लुएन्जा–ए संक्रमण भए अकस्मात उच्च ज्वरो आउने, सुख्खा खोकी लाग्ने, घाँटी, टाउको, मांसपेशी तथा जोर्नी दुख्ने, नाकबाट पातलो सिंगान बग्ने वा नाक बन्द हुने जस्ता समस्या देखिन्छन् ।
साथै मानिसमा अत्यधिक थकान महसुस हुने गर्दछ । यस्तो लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा गई चिकित्सकको परामर्श लिनुपर्ने जनाइएको छ ।
मन्त्रालयले सबैलाई नियमित रूपमा साबुनपानीले हात धुने, भीडभाडमा मास्क प्रयोग गर्ने, खोकी वा हाच्छ्युँ गर्दा मुख र नाक छोप्ने तथा बिरामीसँग अनावश्यक सम्पर्क नगर्ने जस्ता सावधानी अपनाउन आग्रह गरेको छ ।
View : 153
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved