विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मोरङ जिल्लामा तीव्र हावाहुरीको जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार जल तथा मौसम विज्ञान विभागको आगामी केही दिनको पूर्वानुमानका आधारमा चैत ७ गते शनिबार विशेषगरी विराटनगरसहित मोरङका विभिन्न क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी चल्ने सम्भावना रहेको जनाइएको छ ।
सूचनामा हावाहुरीका कारण रूख ढल्ने, कमजोर संरचना भत्किने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको उल्लेख गरिएको छ । अघिल्ला दिनहरूमा देशका विभिन्न स्थानमा आएको हावाहुरीका कारण मानवीय क्षति समेत भएको भन्दै प्रशासनले विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।
प्रशासनले अनावश्यक रूपमा घर बाहिर ननिस्कन, यात्रा गर्दा सतर्क रहन र हावाहुरी चलिरहेका बेला सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ । त्यस्तै, रूखमुनि, खुला स्थान र कमजोर संरचनाको आसपास नबस्न तथा बिजुलीका पोल र तारबाट टाढा रहन पनि सुझाव दिइएको छ ।
यस्तै, हावाहुरीका समयमा अत्यावश्यक बाहेक विद्युतीय उपकरण प्रयोग नगर्न र जोखिमयुक्त स्थानबाट टाढा रहन आग्रह गर्दै सम्भावित विपद्बाट जोगिन सबैलाई सजग रहन प्रशासनले अपिल गरेको छ ।
यता, लुम्बिनी र चितवन लगायत पश्चिमी क्षेत्रमा शुक्रबार दिउँसै एकाएक अँध्यारो छाएको छ । दिउँसो २ बजेतिर मौसम एक्कासि बदलिएपछि आकाशमा बाक्लो कालो बादल लाग्दा अध्याँरो भएको हो । चितवनमा भने आँधीहुरी समेत आएको जनाइएको छ ।
View : 240
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved