Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

रात्रीकालीन फुटबलमा रमाएको विराटनगर

उद्‌घोष संवाददाता
२ वैशाख २०८३, बुधवार

विराटनगर । चैत २८ यता हरेक साँझ ढल्किंदै जाँदा विराटनगरको सहिद रंगशाला एउटा फरक दृश्यको साक्षी बन्छ । दिनभरिको धूलो, घाम र व्यस्तताले थकित देखिने सहर साँझपख भने फ्लडलाइटको उज्यालोमा चहकिलो देखिन्छ ।

रंगशालातिर बिस्तारै बढ्दै जाने भीड, टिकट काउन्टर अगाडि लाग्ने लाइन, दर्शकदीर्घामा सुरु हुने गफगाफ, यी सबैले खेल सुरु हुनुअघिको वातावरणलाई नै उत्सवमय बनाइदिन्छ ।

जब, रेफ्रीले सिटी फुक्दै ‘किक अफ’ को संकेत गर्छन्, रंगशालामा उत्सवी माहोल झनै बाक्लो हुन्छ । दर्शकको हुटिङ, ताली र रोमाञ्चले मैदानको माहोल नै बेग्लै हुन्छ ।

३८ औं संस्करणको विराट गोल्डकप अहिले यही परिवेशमा जारी छ । मंगलबार साँझ घरेलु टोली सम्राट स्पोर्टिङ क्लब र झारखण्डबीचको प्रतिष्पर्धाका विजेता टुंगिएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

मंगलबार रातीको खेलबाट घरेलु टिम सम्राट स्पोर्टिङ क्लबसहित अहिलेम्म नेपाल पुलिस, चर्च ब्वाइज र झापा ११ सेमिफाइनल प्रवेश गरिसकेको विराट गोल्डकपका प्रवक्ता धनकुमार लामाले जानकारी दिए ।  

यसपटक करिब एक करोड पाँच लाख रुपैयाँको बजेटमा सञ्चालन भइरहेको प्रतियोगिता ५ वैशाखसम्म चल्नेछ । 

विजेताले ११ लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । भारतसहित आठ टोलीको सहभागिता रहेको यस प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, झापा–११, सम्राट स्पोर्टिङ क्लब, आर्मी, पुलिस र एपीएफ जस्ता टोलीहरू सहभागी थिए ।

यसपटक जारी प्रतियोगिताले सहरलाई एक किसिमको लय दिएको छ, दिनचर्या सकिएपछि रंगशालातिर लाग्ने बानी । 

सयौं फुटबलप्रेमीका लागि यो दैनिकी बन्न थालेको छ । प्रवक्ता लामाका अनुसार मंगलबारको खेलसम्ममा चार वटा खेल भएका छन् । जसमा दर्शकको संख्या क्रमशः बढ्ने क्रममा छ । ‘अपेक्षा त पाँच–सात हजार दर्शक आइदिउन् भन्ने छ,’ उनले भने ‘तर, अहिले १५ सयदेखि २५ सय हाराहारीमा दर्शक आइरहेका छन् ।’ 

उनका अनुसार सिटी रिक्सामार्फत गरिने प्रचारदेखि लिएर विभिन्न स्थानमा राखिएका गेट र होर्डिङ बोर्डले माहोल तताएको छ । 

विराटनगरको मौसम आफैंमा चरम अवस्थामा पुग्ने गर्छ । जाडोमा कठ्याङ्ग्रिने चिसो र गर्मीमा असह्य ताप । अझ गर्मी मौसममा त फुटबल प्रतियोगिता  सञ्चालन कहिल्यै सहज थिएन । 

औद्योगिक गतिविधिको चाप, सवारीसाधनको भीड र घना बस्तीले गर्मी महिनामा यहाँको तापक्रम झन् असहज बनाइदिन्छ । यही कारण, दिउँसो खेलिने फुटबलले खेलाडी र दर्शक दुवैलाई थकाइ र असहजता मात्र दिन्थ्यो ।

यही यथार्थलाई चिर्दै सुरु भएको हो– रात्रीकालीन फुटबल । साँझको शीतलता र कृत्रिम उज्यालोको संयोजनले फुटबललाई नयाँ जीवन दिएको बताउनेहरु धेरै छन् । अहिले आएर यो विराटनगरको फुटबल संस्कृतिको अभिन् हिस्सा बनिसकेको छ । 

‘दिउँसो आयोजना हुँदा भन्दा साँझमा खेल आयोजना हुँदा दर्शकको सहभागिता धेरै हुन्छ,’ गोल्डकप ट्रस्टका अध्यक्ष किशोरबहादुर शाही भन्छन् ‘पहिले काम गर्ने समयमा खेल हुँदा मैदान सुनसान हुने गरेको अनुभव अहिले उल्टिएको छ । काम सकेर, साथीभाइसँग भेटघाट गर्दै वा परिवारसहित मैदान पुग्नेहरूको संख्या बढ्दो छ ।’

विराटनगरमा रात्रीकालीन फुटबलको सुरुवात २०७४ सालमा भएको थियो । त्यतिबेला नयाँपन खोज्ने प्रयासस्वरूप अस्थायी फ्लडलाइट जडान गरेर गरिएको प्रयोग अहिले परम्परामा परिणत भएको छ । 

गर्मी ठाउँ भएकाले दिउँसोभन्दा साँझ खेल्दा सहज हुने सोचले सुरु भएको यो अभ्यासले समयसँगै आफ्नो प्रभाव प्रमाणित गरिसकेको छ ।

चर्को घाममा खेल्दा खेलाडीको ऊर्जा छिट्टै घट्ने समस्या साँझको समयमा न्यून हुन्छ । खेलको गति, तालमेल र प्रतिस्पर्धात्मकता पनि बढेको देखिन्छ । 

दर्शकका लागि पनि साँझको समय मनोरञ्जनका लागि उपयुक्त बन्छ, दिनभरको थकान बिर्साउने, मन हलुका बनाउने माध्यम बन्ने गरेको छ । 

‘दिउँसो भए फुटबल हेर्न पाइन्न थियो, साँझमा भएकाले सधैं हेर्न पाइएको छ,’ विराटनगरका युवा व्यवसायी साकेत अग्रवालले भने ।

अरुका लागि मात्रै होइन मैदानभित्र खेल्ने खेलाडीहरूका लागि पनि यो अनुभव फरक छ । गर्मीको दबाब कम हुँदा खेलमा ध्यान केन्द्रित गर्न सजिलो हुने खेलाडीहरु बताउँछन् ।

विराट गोल्डकपको इतिहास आफैंमा लामो छ । 

२०१८ सालमा ‘महेन्द्र गोल्डकप’ बाट सुरु भएको यो यात्रा २०६८ सालदेखि ‘विराट गोल्डकप’ का रूपमा अघि बढ्यो । बीचका वर्षहरूमा आर्थिक चुनौती र व्यवस्थापकीय असहजताले प्रतियोगिता केही समय सुस्ताए पनि अहिले पुनः गतिमा फर्किएको छ । 

कहिले सफलताका उदाहरण, कहिले घाटाका अनुभव, यी सबै पार गर्दै प्रतियोगिता अहिले नयाँ आत्मविश्वासका साथ अघि बढिरहेको आयोजक समितिको भनाइ छ । 

रात्रीकालीन फुटबलले विराटनगरलाई केवल खेलकुदको केन्द्रमा मात्र सीमित राखेको छैन । 

यसले सहरको रात्री जीवनलाई पनि नयाँ ऊर्जा दिएको छ । रंगशालाबाहिरका चिया पसल, खेलको चर्चा– यी सबैले सहरलाई तरंगित बनाएका छन् ।

View : 149

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved