Biratnagar, Morang, Nepal
२६ जेठ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

महिला उद्यमीलाई प्रशिक्षण

उद्‌घोष संवाददाता
२६ जेठ २०८३, मङ्गलवार

विराटनगर । नेपाल महिला उद्यमशील संघ (विन) मोरङको आयोजनामा ‘दूरदर्शी उद्यमशीलताः नवप्रवर्तन र दिगोपना’ विषयक एकदिने महिला उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा महिला उद्यमीहरूलाई आत्मपहिचान, नेतृत्व विकास, व्यवसाय विस्तार तथा दीगो व्यवसाय सञ्चालनका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रशिक्षक  सुभाष पौडेल (शिवम) ले महिला उद्यमीहरूलाई सफल उद्यमी बन्न आवश्यक सोच, दृष्टिकोण र नेतृत्व क्षमताबारे प्रशिक्षण दिएका थिए ।

उनले प्रशिक्षणको सुरुवात नै सहभागीहरूलाई म को हूँ ?, म अहिले कहाँ छु ? र म भविष्यमा के बन्न चाहन्छु ? भन्ने प्रश्नमार्फत आत्ममूल्याङ्कन गराएका थिए । 

उनले सहभागीहरूलाई स्वरोजगार, कर्मचारी, लगानीकर्ता, उद्यमी र व्यवसायी जस्ता विभिन्न व्यावसायिक चरणबारे बुझाउँदै आफू कुन अवस्थामा रहेको र आगामी दिनमा कुन स्तरमा पुग्ने लक्ष्य राख्नुपर्ने भन्ने विषयमा अभ्याससहित प्रशिक्षण दिएका थिए ।

प्रशिक्षक पौडेलले सीमित सोचबाट बाहिर निस्केर अवसरको पहिचान गर्ने, लक्ष्य निर्धारण गर्ने, आत्मविश्वास विकास गर्ने र व्यवसायलाई दीगो तथा सफल बनाउने उपायबारे सहभागीहरूलाई सिकाएका थिए । 

तालिमपछि सहभागी महिला उद्यमीहरूले प्राप्त ज्ञान र अनुभवले आप्mनो व्यवसाय तथा व्यक्तिगत विकासमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए । 

कोशी प्रदेशका १०० भन्दा बढी महिला उद्यमीहरूको सहभागिता रहेको सो प्रशिक्षण कार्यक्रमले महिला उद्यमीहरूलाई आफ्नो क्षमता पहिचान गर्दै नवप्रवर्तन, नेतृत्व र दिगो उद्यमशीलताको दिशामा अघि बढ्न महत्वपूर्ण प्रेरणा दिएको आयोजकले जनाएको छ ।

View : 115

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved