Biratnagar, Morang, Nepal
१३ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

लायन्सले बनाइदियो एक करोड ७२ लाखमा ‘मायाघर’ भवन

१२ साउन २०८३, मङ्गलवार

Advertisement

इटहरी । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सी, लायन्स क्लब इन्टरनेसनल फाउन्डेसन (एलसीआईएफ) र स्थानीय समुदायको सहकार्यमा एक करोड ७२ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको ‘मायाघर’ को नयाँ भवन सोमबार हस्तान्तरण गरिएको छ ।

भवन निर्माणका लागि तत्कालीन लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सीका तत्कालिन डिष्ट्रिक्ट गभर्नर विजयहरि शर्माको पहलमा एलसीआईएफले एक करोड ३८ लाख रुपैयाँ अनुदानस्वरूप सहयोग गरेको थियो । बाँकी रकम इटहरीका तीन वटा लायन्स क्लब तथा माया घरको तर्फबाट जुटाइएको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २०८१ फागुन २४ मा शिलान्यास गरेको भवन करिब १८ महिनामा निर्माण सम्पन्न भएको हो । साढे तीन तले भवनमा प्रत्येक तलामा पाँच–पाँच वटा गरी कुल १५ वटा कोठा रहेका छन् । प्रत्येक कोठामा तीन वटासम्म पलङ राख्न मिल्ने व्यवस्था गरिएको छ भने प्रत्येक फ्ल्याटमा तीन–तीन वटा स्नानगृह निर्माण गरिएको छ ।

भवन हस्तान्तरण कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गभर्नर तथा ग्रान्ट एड्मिनिस्ट्रेटर शर्माले निर्धारित समयमै भवन निर्माण सम्पन्न गरी मायाघरलाई हस्तान्तरण गर्न पाउनु महत्वपूर्ण क्षण भएको बताए ।

उनले लायन्सको सामाजिक उत्तरदायित्व र मानवीय सेवातर्फ यो प्रयास उत्कृष्ट उदाहरण भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा लायन्स इन्टरनेसनलका अन्तर्राष्ट्रिय निर्देशक राजन लम्सालले मायाघरको अवस्था पहिलो पटक प्रत्यक्ष अवलोकन गर्दा आफू भावुक बनेको स्मरण गरे । 

तत्कालीन डिष्ट्रिक्ट गभर्नर शर्माको कार्यकालमा भवन निर्माणको प्रस्ताव अघि बढाइएको र आश्रितहरूको अवस्था देखेपछि सुरक्षित तथा व्यवस्थित भवन निर्माण गर्ने निर्णय गरिएको उनले बताए ।

उनले सेवा विस्तारसँगै आश्रितहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको भन्दै नयाँ भवनले उनीहरूलाई थप सुरक्षित, व्यवस्थित र सम्मानजनक वातावरण उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

एलसीआईएफमार्फत परियोजना स्वीकृत गराउन आफूले विशेष पहल गरेको उल्लेख गर्दै उनले लायन्स इन्टरनेसनलले विश्वभर हरेक वर्ष ठूला मानवीय परियोजना सञ्चालन गर्ने गरेको र नेपालमा मात्रै वार्षिक करिब २७ देखि ४५ वटा परियोजना सञ्चालन हुने जानकारी दिए ।

भवन निर्माण समितिका संयोजक पिताम्बर पोखरेलले नयाँ भवन मायाघरप्रति लायन्सको प्रतिबद्धता, सामाजिक उत्तरदायित्व र अन्तर्राष्ट्रिय सहकार्यको प्रतीक भएको बताए । 

स्थानीय समन्वय र अन्तर्राष्ट्रिय सहयोगका कारण परियोजना सफलतापूर्वक सम्पन्न भएको उनको भनाइ थियो ।

परियोजनाका अध्यक्ष राजन खत्रीले मायाघरले २१ जना आश्रितबाट सेवा सुरु गरेको स्मरण गर्दै हाल १२६ जना आश्रितलाई आश्रय र संरक्षण प्रदान गरिरहेको जानकारी दिए । उनले आफू स्थापनाकालदेखि नै संस्थासँग सहकार्य गर्दै आएको बताए ।

मायाघरकी अध्यक्ष शुभद्रा प्याकुरेलले भवन निर्माणमा सहयोग गर्ने लायन्स इन्टरनेसनल, एलसीआईएफ तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै नयाँ भवन आश्रितहरूको जीवनमा नयाँ आशा र भरोसाको आधार बनेको बताइन् ।

कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर लीला चिमरियाले मायाघरजस्ता मानवीय संस्थाको संरक्षण र विकासमा लायन्सले आगामी दिनमा पनि निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

निर्माण सम्पन्न भएको आधुनिक भवनले अब मायाघरका आश्रितलाई सुरक्षित आवास, सहज सेवा र सम्मानजनक जीवनयापनका लागि थप बलियो आधार प्रदान गर्ने विश्वास गरिएको छ ।

भवन हस्तान्तरण कार्यक्रममा लायन्स इन्टरनेसनलका पूर्व डिष्ट्रिक्ट गभर्नर, भाइस डिष्ट्रिक्ट गभर्नर, विभिन्न स्थानीय लायन्स क्लबका पदाधिकारी तथा मायाघरका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

View : 54

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved