Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

इटहरीको बजेट पारित, धरानको अनिश्चित

उद्‌घोष संवाददाता
१ भदौ २०८२, आइतवार

विराटनगर । सुनसरीस्थित इटहरी उपमहानगरपालिकाको बजेट नगर सभामा  पेस भएको ५३ दिनपछि शनिबार पारित भएको छ । शनिबार उपमहानगरको बजेट पारित भएको मेयर हेमकर्ण पौडेलले जानकारी दिएका छन् ।

‘बजेट सर्वसम्मत पारित भएको छ’ उनले भने । गएको असार १० मा उपमेयर संगीताकुमारी चौधरीले आर्थिक वर्ष २०८२–८३ का लागि दुई अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट नगरसभामा पेस गरेकी थिइन् । त्यसपछि भने इटहरीको बजेटबारे विवाद सुरू भएको थियो । 

कांग्रेसबाट निर्वाचित मेयर पौडेल र एमालेबाट निर्वाचित उपमेयरबीच विवाद हुँदा अहिलेसम्म बजेट पारित हुन सकेको थिएन । समयमै बजेट पारित हुन नसक्दा साउन १ देखि इटहरी बजेट होलिडेमा थियो ।

इटहरीको छिमेकी उपमहानगर सुनसरीकै धरानमा भने अझै पनि बजेट आउने दिन तय भएको छैन । 

मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र वेघाबीचको आपसी मनमुटावले धरानको बजेट अहिलेसम्म आउन नसकेको  हो । नयाँ बजेट नआएपछि साउन १ देखि नै धरानमा बजेट होलिडेको अवस्था छ ।

बजेट समयमै पेश भए पनि मेयर र उपमेयरबीचको तनावले इटहरी पनि बजेट होलिडेमा थियो । साउनको अन्तिम दिन शनिबार बजेट पारित भएपछि अब इटहरीलाई भने खर्च गर्ने बाटो खुला भएको छ । 

शुक्रबार सुरू भएको इटहरीको नगरसभा शनिबार पनि दिनभरी चलेको थियो । शनिबार नगरको १६ औं नगरसभाले बजेट पारित गरेको हो ।

नयाँ बजेटमा इटहरीले चालु खर्चतर्फ एक अर्ब चार करोड ११ लाख १० हजार अर्थात् कूल बजेटको ४०.७९ प्रतिशत, वित्तीय व्यवस्थापन अन्तर्गत साँवा ब्याज भुक्तानीतर्फ ९० लाख अर्थात् कूल बजेटको ०.५ प्रतिशत र पूँजीगत खर्च एक अर्ब ५० करोड १९ लाख ९० हजार अर्थात् कूल बजेटको ५८.८६ प्रतिशत छुट्याएको छ ।

नयाँ बजेटले स्थानीय जनताको माग बमोजिम भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको उपमहानगरले जनाएको छ ।

बजेटमा इटहरीलाई सुन्दर शहर बनाउन सौन्दर्यकरणका लागि सडक निर्माणसँगै सडक क्षेत्राधिकारभित्र पर्ने आवश्यक स्थानमा रोड फर्निचर लगाउने, पैदलयात्रीको सहजताका लागि कोशी राजमार्ग दुईवटा आकाशे पुल निर्माण गर्न बजेट विनियोजन भएको उपमहानगरले जानकारी दिएको छ ।

View : 478

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved