विराटनगर । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ स्थित एक कुखुरा फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको छ । लगत्तै नगरपालिकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै संक्रमण फैलिन नदिन तत्काल प्रतिबन्धात्मक र सावधानीका उपाय लागू गरिएको जनाएका छन् ।
नगरपालिकाका अनुसार प्रभावित फार्म वरपरका कुखुरामा पनि समान लक्षण देखिएको छ भने केही कुखुरा मरेका छन् ।
यसले संक्रमण फैलिने जोखिम बढाएको भन्दै सम्बन्धित सबैलाई सचेत रहन नगरपालिकाले अनुरोध गरेको छ ।
सूचनाअनुसार प्रभावित क्षेत्रबाट लेयर्स कुखुरा, अण्डा, मासु, दाना तथा कुखुरा पालनमा प्रयोग हुने उपकरणहरूको ओसारपसारबारे अर्को सूचना नआउञ्जेल पूर्ण रूपमा बन्द गरिएको छ ।
कुखुरामा असामान्य बिरामीपन वा अचानक मृत्यु देखिएमा तुरुन्त वडा कार्यालय वा पशुपन्छी विकास शाखामा जानकारी गराउन भनिएको छ ।
कुखुरा पालकलाई फार्ममा अनावश्यक व्यक्तिको प्रवेशमा रोक लगाउन तथा प्रवेश–निर्गमन बिन्दुमा चुना, फिनेल, सेनिटाइजर, साबुन पानी प्रयोग गर्न निर्देशन दिइएको छ ।
सर्वसाधारणलाई मृत वा बिरामी कुखुरा नछुन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।
संक्रमित तथा शंकास्पद कुखुराको सुरक्षित नष्ट तथा व्यवस्थापन तोकिएको मापदण्डअनुसार गरिने जनाइएको छ ।
स्थानीय बजार र कुखुरा पसलहरूलाई समेत सम्बन्धित निकायको अनुगमन र निर्देशन पालना गर्न नगरपालिकाले आग्रह गरेको छ ।
नगरपालिकाले संक्रमण नियन्त्रण र रोकथामका लागि सम्पूर्ण नगरबासीको सहयोग आवश्यक रहेको उल्लेख गर्दै थप जानकारीका लागि पशुपन्छी विकास शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।
कुखुरा तथा अन्य चराचुरुंगीमा लाग्ने भाइरसजन्य संक्रामक रोग हो । यो रोग संक्रमित कुखुरा, तिनको दिसा,र्याल वा सम्पर्कमा आएका वस्तुहरूबाट सजिलै फैलिन्छ ।
यसले कुखुरामा उच्च मृत्युदर गराउँछ र व्यावसायिक रूपमा ठूलो क्षति पुर्याउन सक्छ । नेपालमा हरेक वर्ष जस्तो बर्डफ्लुले कुखुरापालन व्यवसायमा ठूलो क्षति गर्दै आएको छ ।
View : 109
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved