Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

फार्मेसीमा बीमा रकम दुरुपयोग गर्ने कोशी अस्पतालका  तीन कर्मचारी बर्खास्त

जुनु भट्टराई
३१ भदौ २०८२, मङ्गलवार

विराटनगर । कोशी अस्पतालको फार्मेसीमा स्वास्थ्य बीमा रकम दुरुपयोग भएको पाइएको छ । छानबिनमा संलग्नता देखिएका तीन कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको अस्पतालले जनाएको छ । 

अस्पताल प्रशासनका अनुसार फार्मेसी सहायक, फार्मेसी सहायक निरीक्षक र एक कार्यालय सहयोगीे औषधि दुरुपयोगमा संलग्न देखिएको पाइएकोले अस्पतालले ती कर्मचारीलाई सेवाबाट बर्खास्त गरेको हो ।

मोरङका एक क्यान्सर पीडित बिरामीको आफ्नो बीमाको खाताबाट आवश्यकभन्दा बढी पैसा काटिएको भन्दै अस्पताल प्रशासनमा उजुरी दिएपछि सो घटना बाहिर आएको हो । 

चिकित्सकले एक हप्ताका लागि मात्र औषधि लेखिदिंदा पनि उनको बीमा खाताबाट एक महिनाको औषधिको पैसा काटिएको थियो । 

प्रशासनमा पीडित बिरामीबाट लिखित उजुरी परेपछि छानविन समिति नै गठन गरेर अनुसन्धान गर्दा औषधि दुरुपयोगमा संलग्नता भएको पुष्टि भएपछि दोषी देखिएका तीन जना कर्मचारीलाई बर्खास्त गरिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा. रुणा झाले बताइन् । 

‘हामीले बेलाबेला बिरामीबाट बीमाको औषधिको दुरुपयोग भएकोबारे गुनासो सुन्दै आएका थियौ त्यसैले निगरानी त गरिरहेका थियौ, यो पटक बिरामीबाट लिखित उजुरी नै आयो’, मेसु डा. झाले भनिन्, ‘अनुसन्धानको क्रममा बिरामीले उजुरी दिएको बिलमात्र होइन अघिपछिको केही बिल चेकजाँच गर्दा धेरै गल्ती भेटिएकाले उनीहरुलाई बर्खास्त गरिएको हो ।’  

अस्पताल प्रशासनका अनुसार छानबिन समितिले तयार पारेको प्रतिवेदनमा कर्मचारीहरूले कम औषधि दिएर बढी रकम काट्ने, चिकित्सकले नलेखेको महंगो औषधि देखाएर भुक्तानी गर्ने, आकस्मिक कक्षमा थोरै औषधि पाउने बिरामीको नाममा ठूलो मात्रामा औषधि देखाउनेजस्ता अनियमितता गरेको देखिएको थियो ।

कोशी अस्पतालमा दैनिक करिब एक हजार बिरामी आउने गर्छन्, जसमध्ये करिब आधा बिरामी स्वास्थ्य बीमा सदस्य हुने गरेका छन् । 

अस्पतालको बीमा शाखाका अनुसार बीमित बिरामीमध्ये सबैभन्दा धेरै नसर्ने रोगका बिरामी हुन्छन् । 

उनीहरू मुख्यतया मेडिकल विभागमा उपचारका लागि पुग्ने गर्छन् । 

उच्च रक्तचाप, दम, मधुमेह, ग्यास्ट्राइटिस, तल्लो पेट दुखाइलगायत दीर्घरोगको उपचार सेवा लिन आउनेको संख्या बढी रहेको अस्पतालको तथ्यांकले देखाएको छ । 

यसरी बीमित र दीर्घरोगी बिरामीको चाप बढ्दो अवस्थामा औषधि आपूर्ति र बिलिङ प्रणाली पारदर्शी हुनु अझै जरुरी भएको सरोकारवालाको भनाइ छ ।

View : 1708

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved