Biratnagar, Morang, Nepal
१९ भदौ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
विचार

संगीतको आधारभूत तत्त्वहरू : ध्वनि, आन्दोलन र नाद

बाँसुरीबाट निस्कने आवाज र कठतालबाट निस्कने आवाज तान्पुरा र सितारवाट निस्कने आवाज विणा र सारङ्गीवाट निस्कने आवाज फरक–फरक प्रकृतिका हुन्छन् । गाई कराएको आवाज र बाख्रा कराएको आवाज पनि फरक सुनिन्छ । गायनमा पुरूष गायकको आवाज महिला गायिकाको आवाजसमेत फरक प्रकृतिकै सुनिन्छ । त्यसैले वस्तु पिच्छेका नादहरू फरक–फरक हुने गर्दछन् । यही फरक प्रकृतिलाई नादका जाति भनिएको हो ।
शैलेन्द्र खतिवडा
३० असार २०८३, मङ्गलवार

Advertisement

ध्वनि भन्नाले मानवले उच्चारण गरेका आवाजहरू वा कुनै वस्तुवाट टकराव भई उत्पन्न हुने आवाजलाई ध्वनि भनिन्छ ।

ध्वनिको सम्वन्ध मुख्य गरी कानसँग हुन्छ । हामीले सुन्ने सवै आवाजहरू कानबाट सुनिन्छ ।

ध्वनि आफै उत्पन्न हुँदैन । ध्वनि हुनाका लागि कुनै निश्चित दुई वस्तुहरूको घर्षण आवश्यकता पर्दछ ।

दुई वस्तुहरूको द्वन्द्वबाट एक खाले प्रतिक्रिया पैदा हुन्छ त्यही प्रतिक्रिया नै ध्वनि हो ।

 

तबलाको छाउनीमा आघात नगरून्जेल तबला शान्त हुन्छ । तबलाको छाउनीमा आघात गर्दा तबलाले आवाजरूपी प्रतिक्रिया दिन्छ । त्यही प्रतिक्रिया नै ध्वनि हो । जुन ध्वनि हामीले सुनेका छौं ती सबै ध्वनिहरूका उत्पादक केन्द्रहरू हुन्छन् । प्रत्येक केन्द्रबाट हावाको मध्यम हु“दै ध्वनि प्रसारित हुन पुग्दछ ।

ध्वनिले प्रत्येक जीवन्त प्राणीहरूलाई प्रभाव पर्दछ ।

ध्वनि श्रवण गर्नलाई ध्वनिको उत्पादक आन्दोलनको घनसंख्याले निर्धारण गर्दछ ।

 

४० स्पर्श पावर भन्दा कमको ध्वनि हाम्रो कानले सुन्न सक्दैन  भने ४००० स्पर्श पावर भन्दा माथिको ध्वनिलाई हाम्रो कानले ग्रहण गर्न पनि सक्दैन । त्यो भन्दा माथिको ध्वनि सुनियो भने जुन मानवले सुन्छ उसका दुवै कान सधैका लागि सुन्न नसक्ने गरी विदा हुन्छन् ।

ध्वनि कुनै पनि खोक्रो वस्तुमा त्यस भन्दा कडा वा शक्तिशाली वस्तुले गरिने आघातबाट प्रतिक्रिया स्वरूप निर्माण भई प्राणीहरूलाई प्रभाव पार्दछ ।

प्रभावका आधारमा ध्वनि २ प्रकारका हुन्छन् । क्रमशः हावामा तरङ्गित हुँदै विस्तारै फैलिदै जान्छ । ध्वनिले प्रत्येक जीवित प्राणीहरुलाई प्रभाव पार्दछ । प्रभावका आधारमा ध्वनी दुई प्रकारका हुन्छन् ।

सङ्गीत उपयोगी ध्वनि र सङ्गीत उपयोगी ध्वनी  ।

 

सङ्गीत उपयोगी ध्वनि : जुन ध्वनि कर्णप्रिय हुन्छ, आनन्ददायक, मधुर मनोहर र चित्ताकर्षक हुन्छ, त्यस ध्वनिलाई सङ्गीत उपयोगी ध्वनि भनिन्छ ।

यस्ता ध्वनि नियमित र स्थिर आन्दोलनबाट मात्र उत्पन्न हुने गर्दछन ।

स्थिर आन्दोलनबाट उत्पन्न हने चित्ताकर्षक ध्वनिलाई नै नाद भनिन्छ ।

सङ्गीत उपयोगी ध्वनि हुनाका लागि ३ वटा तत्वहरू आवश्यक पर्दछ ।

पहिलो ध्वनि उत्पादक व्यक्ति, दोस्रो ध्वनि उत्पादक वस्तु र तेस्रो ध्वनि श्रावण इन्द्रिय ।

यी मध्ये कुनै एकको अभावमा ध्वनि सङ्गीत उपयोगी नहुन सक्छ ।

 

सङ्गीत अनुपयोगी ध्वनि :– जुनसुकै खाले आन्दोलनबाट उत्पन्न भएको ध्वनि जसले प्राणीको चित्ताकर्षण गर्दैन् र कर्कस लाग्दछ अर्थात् जुन ध्वनि सुन्दा श्रवण गर्ने व्यक्ति वा जीवलाई तनाव हुन पुग्दछ यस्ता कोलहलपूर्ण चित्ता विकर्षणयुक्त ध्वनिहरू सङ्गीत अनुपयोगी ध्वनि हुन् ।

जसको प्रयोग गर्दा सङ्गीत निरस हुन् पुग्दछ । जसले प्राणीलाई आकषर्ण गर्ने भन्दा कोलाहल बढेर तनाबतर्फ केन्द्रित गराउ“छ ।

 

आन्दोलन सम्बन्धमा : आन्दोलन भन्नाले कुनै एक शक्तिशाली बस्तु अर्को कमजोर बस्तुमा टकराव वा द्वन्द्व हुन जा“दा कमजोर बस्तु तरङ्गित भई कम्पन हुन पुग्दछ ।

कम्पित बस्तुले आघात पाउने बित्तिकै तीव्र गतिमा दवाबको तागत अनुसार दायाँ वायाँ अर्थात् तलमाथि गोलाकार हुँदै फैलिएर आवाजरूपी प्रतिक्रिया पैदा गर्न थाल्दछ ।

त्यो प्रतिक्रिया पैदा गर्नका लागि भएको आघातको तागतको घनत्व नै आन्दोलन हो ।

जब आन्दोलित बस्तु आफ्नो परिधिभित्र सक्रिय हुन्छ ।

अनि त्यसले आफ्नो स्वरूप अन्सारको चक्रिय, गति लिई झुल्न सुरू गर्दछ ।

जस्तै एक तारेको तारलाई वेजोडले तन्काएर छोडिदिंदा त्यो तार तलामाथि गरेर झुल्न थाल्दछ आरम्भमा जति जोडले झल्दछ, क्रमशः दबाबको घनत्व कम हुन गई अन्त्यमा आन्दोलनको प्रभाव सकिए पछि ठीक हुँदै स्थिर अवस्थामा आई पुग्छ ।

यस बीचमा तारलाई दवाव दिई छोड्दा तार कम्पित हुन गई त्यसले बाक्लै रूपमा धेरै नादहरू उत्पन्न गर्दछ ।

कुनै नाद ठूलो हुन्छ भने कुनै नाद सानो । सङ्गीतमा आन्दोलन नाद उत्पादनका लागि अर्थात् स्वर उत्पादनका लागि गरिन्छ ।

आन्दोलन जति ठूलो भयो प्रतिक्रिया त्यति नै ठूलो हुन्छ । आन्दोलन जति सानो भयो प्रतिक्रिया त्यति नै सानो हुन्छ ।

आन्दोलनका पनि प्रकारहरू छन् जसलाई निम्न बमोजिम लिएको छ । आन्दोलन पनि स्थिर र अस्थिर दुई प्रकारका हुन्छन् ।

 

स्थिर आन्दोलन : – कुनै पनि आन्दोलन नियमित रूपमा भई रहँदा जसबाट उत्पन्न हुने प्रतिक्रिया समेत स्थिर हुन्छ जुन कर्णप्रिय पनि हुन्छ ।

नियमित र स्थिर आन्दोलनले सङ्गीत उपयोगी ध्वनि उत्पादन गर्छ यही ध्वनिलाई नाद भनेर बुझ्ने गरिन्छ ।

यसरी स्थिर रूपमा स्वर उत्पादनका लागि हुने नियमित आन्दोलनलाई स्थिर आन्दोलन भनिन्छ । जसको समय चक्र नियमित र निरन्तर चलिरहन्छ ।

 

अस्थिर आन्दोलन : आन्दोलनको समय क्रम फरक–फरक भए आघातको घनत्व पनि फरक परी अनियमित तरिकाको आघातबाट आन्दोलन चल्दछ भने यसरी गरिने आन्दोलनलाई अस्थिर आन्दोलन भन्दछन् ।

अस्थिर आन्दोलनबाट निस्कने ध्वनि पनि अस्थिर प्रकृतिको कर्णकटु वा चित्ता विकर्षण हुने गर्दछ ।

जसबाट निस्कने नाद सङ्गीत उपयोगी नहुन सक्दछ ।

यस्ता खालका आन्दोलनले सङ्गीतमा खासै अर्थ नराख्ने भएकाले अस्थिर आन्दोलनबाट सङ्गीत उपयोगी आवाज निकाल्न सकिंदैन ।

 

 

नादका सम्बन्धमा :  नाथको अर्थ बुझ्न सबैभन्दा पहिले यसको शाब्दिक प्रकृतिलाई केलाउनु पर्दछ ।

शाब्दिक प्रकृति अनुसार ना र द मिलेर नाद बनेको छ । 

तसर्थ ना को अर्थ नाकार र द को अर्थ दकार यी दुवै अर्थलाई जोड्दा  नाकार भनेको प्राणवायु र दकार भनेको अग्नि या ताप भन्ने बुझिन्छ । 

वायु वा तापको घर्षणवाट नादको जन्म हुने गर्दछ ।

 

नादले इन्द्रियहरूलाई सक्रिय बनाउने सामर्थ्य बोकेको हुन्छ ।

नाद कुनै खोक्रो वस्तुमा शक्तिशाली बस्तुले आघात गर्दा  त्यसमा वायु र तापको घर्षण हुन पुग्दछ जसबाट प्रतिक्रयारूपी आवाज पैदा हुन्छ जुन नियमित  निरन्तर र स्थिर आन्दोलनबाट निस्कने आवाज हो त्यसलाई नाद भनिन्छ ।

यसरी निस्केको आवाज हावामा प्रवाह भई एकखाले आनन्ददायक, कर्णप्रिय, मनमोहक, चित्ताकर्षक, तैलधार जस्तो मुलायम मधुर प्रकृतिको हुन्छ, यसको असली स्वरूप पनि यही हो जुन आवाज सङ्गीतको लागि अति उपयुक्त मानिन्छ ।

यसरी निस्कने सङ्गीत उपयोगी आवाज नै नाद हो । त्यही ध्वनिको सूक्ष्म मधुर रूपलाई नै नाद भनिन्छ । नादलाई अनाहत र आहात नाद गरी दुई प्रकारका हुन्छन् ।

 

 

अनाहत् नाद :  ऋषि, मुनि, योगी, ध्यानीहरूले योगमार्गले मनलाई ब्रम्हकेन्द्रित गर्दै एकाग्र सोचाईको पराकाष्टमा प्रकाशरूपी आवाजको मधुर धुन अनुभूति गर्दै सङ्गीतको रसास्वादन गर्ने कार्य गर्दछ ।

यसरी जुन धुनको अनुभूति हुन्छ अर्थात् कल्पनामा सङ्गीतको अनुभूति गरी एकाग्र मनलाई आनन्दित पार्दछ भने त्यसरी कल्पिएको आवाज धुन नै अनाहत् नाद हो ।

जसमा कुनै दुई वस्तुहरूको द्वन्द्व हु“दैन, यो मनलाई एकाग्र गरी गरिने साङ्गीतिक अनुभूति मात्र हो ।

 

जसबाट कुनै लिपि वा वर्ण बन्ने सम्भावना पनि रहदैन यस्तो प्रकारको अनुभूतीय नादलाई अनाहत् नाद भनिन्छ ।

अर्थात शब्दलाई केलाउ“दा अनाहत्को अर्थ कुनै विषयमा आहत नभई स्वतः स्फुर्त निष्किने आवाज हो ।

जसको लिपि बनाउन सकिदैन । जस्तै  ब्रह्माजीले एक समय ध्यानमग्न भएर योग समाधिमा रह“दा उहा“को मनले राग भैरवको अनुभूति गरी सङ्गीतको रसस्वादन गर्नु भयो ।

यसरी अन्तरघटले जुन ध्वनिको अनुभूति गर्नु भयो त्यस्तो ध्वनिलाई अनाहत् नाद भनिन्छ ।

 

आहत् नाद :  आहत् नाद भन्नाले कुनै पनि खोक्रा वस्तुमा शक्तिशाली बस्तुले नियमित र स्थिर आघात गरिरह“दा आघातको घनत्व अनुसार बस्तु आन्दोलित भई प्रतिक्रिया स्वरूप आवाज उत्पन्न गर्दछ ।

यसरी नियमित आघातबाट र समान दबाबबाट हुने प्रतिक्रिया स्वरूप पैदा हुने सङ्गीत उपयोगी, मधुर आवाज जुन आवाजले प्राणीको चित्तलाई आर्कषण गर्दछ ।

त्यस्तो आवाजको सूक्ष्म रूपलाई अहात् नाद भनिन्छ ।

जुन नादको लिपि हुन्छ, वर्णहरू हुन्छन्, अभ्यास र साधना हुने गर्दछ विधिपूर्ण भौतिक अध्ययनको आधार निर्माण भई भाषिक रूपमा यसलाई प्रकट गर्न सकिने हुन्छ ।

त्यस्तो खालको नादलाई आहत् नाद भनिन्छ । अहिले सङ्गीतको विश्व बजार यही नादमा आधारित भई अघि बढेको छ ।

 

नादका विशेषताहरू : कुनै पनि वस्तु वा विषयको उत्पत्तिस“गै उसका क्षमता, स्वभाव र आहार विहारहरू पनि सँगै उपस्थिति हुन्छन्, यसलाई नै वस्तुको विशेषता भनिन्छ ।

विशेषता विनाको कुनै वस्तु हु“दैनन् भने झै नादका आफ्नै विशेषताहरू छन् ।

नादका विशेक्षताहरु तीन प्रकारका छन्, नादको उचानिचापन, ठूलो सानोपन  र जाति ।

नादको उचानिचापन : एक स्वरबाट अर्को स्वरमा चढ्दा नाद उचो हुँदै जान्छ, र निश्चित निचापन हुन्छ ।

 

कुनै पनि बस्तुहरूका बीचमा द्वन्द्व भएपछि कम्जोर बस्तुमा कम्पन पैदा हुन्छ कम्पित बस्तु तरङ्गीत हुँदै चक्करदार भई घुम्दा त्यसबाट ध्वनि निस्कन्छ ।

यसरी निस्कने ध्वनि आन्दोलनको घनत्व अनुसार ज्यादा आघात भए ठूलो आवाजमा र थोरै आघात भएको भए सानो आवाजमा नाद निस्कन्छ यसैलाई नै नादको उचानिचापन भनिएको हो ।

यसरी नादको उचानिचापन हुनुमा प्रति सेकेन्डमा हुने आन्दोलनको संख्यामा निर्भर हुन्छ ।

 

नादको ठूलो सानोपन  : विस्तारै बोल्दा नजिकैका मानिसहरूले सुन्छन् र जोडले बोल्दा टा–टाढाका मानिसहरूले समेत सुन्छन् ।

यसरी नजिकै र टाढा सुनिनु आवाजको मात्रामा निर्भर हुन्छ । ठूलो आवाज हुँदा नादको ठूलोपन मानिन्छ र सानो आवाज हुँदा नादको सानोपन मानिन्छ ।

यसरी नादको ठूलो र सानोपनलाई छुट्टै नादको विशेषताको रूपमा अध्ययन गर्न सकिन्छ ।

 

जाति : नाद विभिन्न जातको हुन्छ ।

बाँसुरीबाट निस्कने आवाज र कठतालबाट निस्कने आवाज तान्पुरा र सितारवाट निस्कने आवाज विणा र सारङ्गीवाट निस्कने आवाज फरक–फरक प्रकृतिका हुन्छन् ।

गाई कराएको आवाज र बाख्रा कराएको आवाज पनि फरक सुनिन्छ ।

 

गायनमा पुरूष गायकको आवाज महिला गायिकाको आवाजसमेत फरक प्रकृतिकै सुनिन्छ ।

त्यसैले वस्तु पिच्छेका नादहरू फरक–फरक हुने गर्दछन् । यही फरक प्रकृतिलाई नादका जाति भनिएको हो ।

त्यसैले नादका बिभिन्न जाति हुने हुनाले नादका जाति पनि फरक हुन्छन् भनी यसका विशेषता अन्तर्गत नादको जाति भनि राखिएको हो ।

(शैलेन्द्रखतिवडा त्रियुगा सङ्‌गीत  विद्यालय, त्रियुगा–१२ , उदयपुरका कार्यकारी निर्देशक हुन्।)

 

View : 199

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved