विराटनगर । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले विभिन्न १३ जिल्लाका स्थानीय तहमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । नयाँ प्रविधि अपनाउने र सेवामा स्तरोन्नति गर्ने आफ्नो योजना अनुसार ‘भ्वाइस ओभर लङ्ग टर्म एभोल्युसन’ (भोल्टे) प्रविधिसँगै फोरजी नेटवर्कलाई झन् बलियो बनाउन थ्रिजी सेवा बन्द गर्न लागेको हो ।
नयाँ प्रविधिले भ्वाइसका साथै डेटा सेवाको अनुभव अझै परिस्कृत बनाउने एनसेलले जनाएको छ । योसँगै थ्रीजीमा आधारित भ्वाइस सेवा अब फोरजीमा आधारित भोल्टेमार्फत प्रदान हुनेछ ।
कतिपय ग्राहकले फोरजी चल्ने सिमकार्ड लिएपछि र फोरजी नै चल्ने सेटमा सिमकार्ड प्रयोग गरिरहेका भए पनि थ्रीजी नै चलाइरहेका हुन्छन् । अब भोल्टेको फाइदा लिन ग्राहकले आफनो मोबाइलमा भोल्टे सेटिङ्मा भोल्टे अन गर्नु पर्दछ ।
देशैभर फोरजी नेटवर्क विस्तार गरी फाइभजीका लागि कम्पनीले फ्रिक्वेन्सी मागिरहेको अवस्थामा थ्रीजी नेटवर्क बन्द हुनु नयाँ प्रविधिमा अपग्रेड हुने एक प्रक्रिया हो । यसले उन्नत प्रविधिको प्रयोगसँगै ग्राहकहरूलाई भ्वाइस अनि डेटामा झन् गुणस्तरीय कनेक्टिभिटीको अनुभूति गराउने छ ।
एनसेलले आफूले घोषणा गरिएअनुसारै देशभर चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गर्ने योजना कार्यान्वयन गर्ने बताउँदै आएको छ । यसै योजना अन्तर्गत पाँच प्रदेशका १३ जिल्लाका २२० भन्दा बढी टावरहरूमा कम्पनीले असार २२ गतेबाट थ्रीजी सेवा बन्द गर्दैछ ।
कम्पनीले यी जिल्लाका सम्बन्धित स्थानहरूमा बसोबास गर्ने र फोरजीमा अपग्रेड हुन बाँकी ग्राहकहरूलाई भोल्टे सेवा लिनका लागि आग्रह गरेको छ ।
यसअघि पनि गत माघमा कम्पनीले कोशीका तीन जिल्लाका विभिन्न स्थानियतहहरूमा थ्रीजी बन्द गरेको थियो ।
थ्रीजी सेवा बन्द हुने स्थानको सूचीमा कोशी प्रदेशको उदयपुरस्थित त्रियुगा, चौदण्डीगढी, बेलका, कटारी, संखुवासभाको चैनपुर, खाँदबारी, धर्मदेवी, धनकुटाको पाख्रीबास, साँगुरीगढी, भोजपुरको टेम्केमैयुङ र अरूणलगायतका स्थानीय तह रहेका छन् ।
मधेस प्रदेशको सप्तरी जिल्लाका सप्तकोशी र कञ्चनरूप, कर्णाली प्रदेशका रूकुम पश्चिमका चौरजहारी, मुसिकोट, त्रिवेणी, सल्यानका शारदा, छत्रेश्वरी, बागचौरलगायतका स्थानिय तहमा थ्रीजी बन्द हुनेछ ।
यसैगरी लुम्बिनी प्रदेश अन्तर्गत रूकुम पूर्वका सिस्ने, भूमे, रोल्पाका थबाङ, गंगादेवलगायतका स्थानका साथै बागमती प्रदेशको मकवानपुरका हेटौडा, बकैया, मनहरी र राक्सिराङ जस्ता स्थानिय तहहरूमा थ्रीजी सेवा बन्द गर्न लागिएको एनसेलले जनाएको छ ।
यो सेवा बन्द भए पनि ग्राहकले भोल्टेको फाइदा लिन सक्छन् जसमा एकै समयमा भ्वाइसका साथै मोबाइल ब्रोडब्याण्ड सेवा अहिलेकै शुल्कमा प्रयोग गर्न सक्छन् ।
View : 44
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved