घर निर्माण प्रदर्शनी २०८२ः
विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा पूर्वमै पहिलो पटक यहि बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी २०८२’ हुँदैछ । अहिले विराटनगरको मुख्य बजार क्षेत्रको जैनभवन परिसरमा प्रदर्शनी स्थल निर्माण भइरहेको छ । संगठनले प्रदर्शनी आयोजना गर्न उपाध्यक्ष सुरेन्द्र गोल्छाले संयोजकत्वको नेतृत्व गरिरहेका छन् ।
घर निर्माण प्रदर्शनीमार्फत शिथिल आर्थिक गतिविधि र उद्योग व्यवसाय क्षेत्र चलायमान बनाउने, स्वदेशी निर्माण सामग्री र सेवाको प्रवद्र्धन गर्ने, उपभोक्तामा सुरक्षित घर निर्माणबारे चेतना फैलाउने मुख्य उदेश्य रहेको संयोजक गोल्छाले बताएका छन् । प्रदर्शनीको तयारीकै सन्दर्भमा संयोजक गोल्छासँग उद्घोष दैनिकले गरेको कुराकानी :
अहिले तयारी अन्तिम चरणमा पुगिसकेको छ । प्रदर्शनीस्थलमा डोमसहितको मुख्य संरचना निर्माणको काम लगभग पूरा भइसकेको छ । अहिले स्टल निर्माण, डेकोरेशन तथा अन्तिम व्यवस्थापनसम्बन्धि कामहरू तीव्र रूपमा भइरहेका छन् । तोकिएकै समयमा सबै काम सम्पन्न गर्ने लक्ष्य छ, त्यो पूरा हुनै लागेको छ ।
मुख्य उद्देश्य भनेको घर निर्माणसँग सम्बन्धित सम्पूर्ण जानकारी, सामग्री र प्रविधिलाई एउटै छानामुनि ल्याएर घर निर्माणको क्षेत्रमा संलग्न हुने जोसुकै पक्षलाई पनि आगामी दिनका लागि सजिलो बाटो बनाइदिनु हो । व्यवसाय प्रवद्र्धन, वस्तु सेवाको उचित मूल्य निर्धारण र गुणस्तरीय निर्माण संस्कृतिको विकास गर्नु हाम्रो लक्ष्य रहेको छ । अर्कोतिर, घर निर्माण क्षेत्रका सबै सरोकारवालालाई एउटै थलोमा जोड्ने उद्देश्य पनि पूरा हुने अपेक्षा लिएका छौं । यो प्रदर्शनीले ५० भन्दा बढी उद्योगहरूको अन्तर उद्योग प्रणाली निर्माणमा मद्दत पुग्ने विश्वास लिएका छौं । ‘सुरक्षित घर, स्मार्ट जीवन’ भन्ने मुख्य अवधारणालाई व्यवहारमा उतार्ने लक्ष्यसहित प्रदर्शनी आयोजना गरेका छौं ।
प्रदर्शनीको औपचारिक उद्घाटन चैत १२ गते दिउँसो १२ बजे हुनेछ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीज्यूबाट उद्घाटन गराउने तयारी छ । उद्घाटनलाई विशेष बनाउने गरीको तयारी पनि जारी छ ।
प्रचार प्रसारको पहिलो माध्यममा आम संचार क्षेत्र नै हो । तपाईँहरू सवैबाट सहयोग पाइरहेका छौं । साथै, विभिन्न पत्रपत्रिका, अनलाइन पोर्टल, सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम), फेसबुक बुस्टिङ, इन्फ्लुएन्सर मार्केटिङ, ह्वाट्सएप ग्रुप तथा स्थानीय स्तरमा रिक्साबाट पनि प्रचारको काम गरिरहेका छौं । जसको माध्यमबाट प्रदर्शनीबारे प्रत्यक्ष सरोकारवालाहरूलाई व्यापक जनचासो बढाइरहेको विश्वास गरेका छौं ।
यस्तो प्रदर्शनी काठमाडौंमा त पटक पटक भइरहेको कुरा सुनेकै छौं, तर पूर्वमा अहिलेसम्म भएको हामीलाई जानकारी छैन । अहिले मुलुकको आर्थिक गतिविधिलाई अघि बढाउन उद्योग र व्यापार क्षेत्रको योगदान अझ बढाउनु पर्ने कुरामा हामी उद्योगीहरू आफैं सचेत छौं । त्यसैले यहाँपनि यो आवश्यकता महसुस गरेका हौं । किनभने, तपाईँ हामीजस्तै कैयौं मानिसहरूले घर बनाइरहेका हुन्छौं । उनीहरूलाई यो क्षेत्रमा भइरहेको नयाँ कुरा जानकारी दिन सकेका छैनौं ।
घर निर्माण गर्दा आवश्यक सामग्री, प्रविधि, लागत र डिजाइनबारे धेरैलाई पर्याप्त जानकारी हुँदैन । साथै एउटै सामग्रीको फरक–फरक मूल्य हुने समस्या पनि छ । त्यसैले सही जानकारी, प्रविधि र उचित मूल्यबारे जनचेतना फैलाउने उद्देश्यले यस्तो प्रदर्शनी आवश्यक देखिएको हो ।
बजारमा के सामान उपलब्ध छन्, कस्ता गुणस्तरका छन्, कति टिक्छन् ? कस्तो प्रविधि आइरहेका छन् भन्ने कुरा जानकारी दिन सकिए यसले आम सर्वसाधारणमा पनि सचेतना हुन्छ र, निर्माण क्षेत्र हुँदै उद्योग व्यापार क्षेत्रपनि अघि बढ्न मद्दत पुग्छ भन्ने लागेर प्रदर्शनी गर्ने अवस्थामा पुगेका हौं ।
यहाँ सिमेन्ट, फलाम (रड), तार, इलेक्ट्रिकल सामग्री, लाइट फिटिङ, जिप्सम बोर्ड, डेकोरेशन सामग्री, होम सेक्युरिटी सिस्टम, सोलार प्रणालीदेखि लिएर घर निर्माणका सम्पूर्ण सामग्रीहरूबारे जानकारी उपलब्ध हुनेछन् । साथै सिभिल इन्जिनियर, आर्किटेक्ट, इन्टेरियर डिजाइनर लगायतका प्राविधिकहरूको पनि सहभागिता रहने भएकोले मानिसहरूले एकदमै ढुक्क भएर सवै प्रकारका जानकारी पाउने छन् ।
यो प्रदर्शनी विराटनगरमा आयोजना हुँदै आएका अन्य एक्स्पोजस्तो वस्तु सेवाको सिधै बिक्री गर्ने स्थल होइन् । यो कुरा हामी स्पष्ट पार्दछौं । यहाँ नयाँ घर बनाउन चाहनेदेखि लिएर घर मर्मत (रिनोभेसन) गर्न चाहनेसम्मलाई आवश्यक जे जति प्रविधि, सामग्री र अन्य जानकारी चाहिने हो त्यो उपलब्ध गराउँछौं । फेरी यो होइन कि सत् प्रतिशत हरेक कुरा जानकारी गराउँछौं । हामीले पहिलो पटक आयोजना गरेका कारण केही सिमितता पनि अवश्य हुने नै छन् । तर मुख्य रुपमा सामान्य घरदेखि आलिशान भवनसम्मका डिजाइन र प्रविधिका लागि जे जे चाहिने कुरा हुन् त्यो यहाँबाट जानकारीमार्फत मानिसहरूको आवश्यकता पूरा गर्न प्रयोग गर्नेछौं । प्रदर्शनीमा घुम्नका लागि वा खरिदका लागि भन्दा पनि नयाँ जानकारी लिने स्थल बनाउनेमा हामी विशेष रुपमा केन्द्रित छौं ।
प्रि–फ्याब घर, इँटाको घर, कंक्रिट संरचना, आधुनिक हाउस डिजाइन, होम अटोमेशन लगायतका प्रविधिहरूबारे अनेकौं प्रकारले जानकारी दिइने छ । विश्वमा घर निर्माणमा प्रवेश गरेका प्रविधिबारे अधिकतम् जानकारीदेखि हाम्रो परम्परागत प्रविधिमा भएका सुधारका कुरा पनि प्रदर्शनीस्थलमा प्रस्तुत हुनेछन् । यसले उपभोक्तालाई आफ्नो घर निर्माणदेखि मर्मतसम्मको काम गर्न अत्यन्तै सही निर्णय लिन सहयोग पु¥याउने विश्वास लिएका छौं ।
यो प्रदर्शनीको अर्को मुख्य उद्देश्य नै व्यवसायी–व्यवसायीबीचको सहकार्य (बीटुबी) र व्यवसायी–उपभोक्ता सम्बन्ध (बीटुसी) लाई अझ बलियो बनाउनु हो । हाम्रो प्राथमिकताको क्षेत्र यो समेत हो । यही सम्बन्धका माध्यमबाट व्यवसाय क्षेत्रको दीर्घकालीन व्यापार विस्तार र उपभोक्तासँगको नयाँ सम्बन्ध स्थापना हुने विश्वास लिएका छौं ।
अन्य मेलाहरूमा चैं कपडादेखि खाद्यान्नसम्मका वस्तु बिक्री हुन्छन् । तर यो प्रदर्शनी पूर्ण रूपमा घर निर्माण र पूर्वाधारसँग सम्बन्धित हो । यहाँ तत्काल किनबेचभन्दा पनि जानकारी, योजना र दीर्घकालीन लगानीमा केन्द्रित गतिविधि हुनेछन् । हामीले अरु मेला महोत्सवजस्तो प्रत्यक्ष कारोबार यो प्रदर्शनीबाट नहुने कुरा भनिसकेका छौं । त्यसैले तर यो प्रदर्शनी पूर्व क्षेत्रकै उद्योगी व्यवसायी र आम मानिसका लागि नयाँ भएकोले दैनिक तीन हजार मानिसले अवलोकन गर्न सक्छन् भन्ने अनुमान राखेका छौं ।
हो, प्रदर्शनीको अवधिमा थिमेटिक सेसनहरू सञ्चालन हुँदैछन् । जहाँ भवन निर्माण मापदण्ड, भूकम्प प्रतिरोधी संरचना, विद्युत सुरक्षा, अग्नि सुरक्षा, आधुनिक वास्तुशास्त्र, इन्टेरियर डिजाइन लगायत विषयमा सम्बन्धित क्षेत्रकै विज्ञहरूले आफ्ना जानकारी प्रस्तुत गर्नेछन् । मानिसहरूलाई त्यसबारे नयाँ कुरा भनिदिनेछन् । त्यसको माध्यमबाट धेरैलाई फाइदा पुग्ने भएकोले प्रदर्शनी स्थलमा दैनिक रुपमा विशेषज्ञ विज्ञहरूसहितको सेसन संचालन गर्दैछौं ।
प्रदर्शनीमा सरकारी क्षेत्रले पनि स्टल राखेका छन् । विराटनगर महानगरपालिका, कोशी प्रदेश सरकार र पूर्वाधार विकाससँग सम्बन्धित निकाय, प्राविधिक शिक्षालयहरू (जस्तैः मनमोहन प्राविधिक विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय र इन्जिनियरिङ कलेजहरू) बीच पनि सहकार्य गरिएको छ । जसको माध्यमबाट त्यहाँका विद्यार्थीहरूले पनि नयाँ कुरा सिक्ने अवसर पाउने विश्वास लिएका छौं ।
View : 164
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved