Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूविका दुई आंगिक क्याम्पसले पाए नयाँ नेतृत्व

जनता आदर्शमा जमरकट्टेल र कानुनमा खतिवडा नियुक्त

उद्‌घोष संवाददाता
१६ वैशाख २०८३, बुधवार

Advertisement

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) ले आफ्ना दुई महत्त्वपूर्ण आंगिक क्याम्पसहरूमा नयाँ नेतृत्व चयन गरेको छ।

विश्वविद्यालयको कार्यकारी परिषद्ले जनता आदर्श बहुमुखी क्याम्पस र कानुन क्याम्पसको क्याम्पस प्रमुख  पदमा नयाँ नियुक्ति गरेको हो।

गत वैशाख ३ गते बसेको  कार्यकारी परिषद्को बैठकको निर्णयानुसार जनता आदर्श बहुमुखी क्याम्पस तथा जनसंख्या र विकास केन्द्र (सिप्याड) को क्याम्पस प्रमुख (निर्देशक )मा यज्ञप्रसाद जमरकट्टेल नियुक्त भएका छन् ।

लामो समयदेखि सोही केन्द्रमा प्राध्यापनरत जमरकट्टेलको नियुक्ति आगामी ४ वर्षका लागि गरिएको हो। उनको कार्यकाल  वैशाख १० गतेदेखि लागू हुने  गरी नियुक्ति गरिएकाे  विश्वविद्यालयले जनाएको छ।

 

यसैगरी, विश्वविद्यालयले कानुन क्याम्पस (कलेज अफ ल) को क्याम्पस प्रमुख (निर्देशक) को महत्त्वपूर्ण जिम्मेवारी दीपक खतिवडालाई सुम्पेको छ। खतिवडाको नियुक्ति पनि बिहीबार (वैशाख १० गते) देखि नै लागू हुनेगरी गरिएको छ।

नवनियुक्त दुवै क्याम्पस प्रमुखहरूको पदस्थापन भने आज (बुधबार) नै गराइएको  जनता आदर्श बहुमुखी क्याम्पस तथा जनसंख्या र विकास केन्द्रका प्रशासन प्रमुख नारायणप्रसाद पोखरेलकले बताए । 

यसअघि यी दुवै क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पस (सिप्याडसहित) र कानुन क्याम्पसको प्रमुखको जिम्मेवारी एउटै नेतृत्वले सम्हाल्दै आएको थियो।

वि.सं. २०७८ पुस २४ गतेदेखि महेशप्रसाद निरौलाले यी दुवै क्याम्पसको प्रमुख (निर्देशक) को रूपमा सफलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए  । उनको कार्यकाल पूरा भएसँगै विश्वविद्यालयले दुई छुट्टाछुट्टै नेतृत्व चयन गरेको हो।

नयाँ नेतृत्वको आगमनसँगै पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतका यी दुवै क्याम्पसहरूको प्राज्ञिक तथा शैक्षिक गुणस्तरमा थप वृद्धि हुनुका साथै प्रशासनिक क्षेत्रमा उल्लेख्य सुधार र विकास हुने अपेक्षा प्राध्यापक, विद्यार्थी तथा सरोकारवालाहरूले गरेका छन्।

View : 693

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved