Biratnagar, Morang, Nepal
२४ वैशाख २०८२, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

प्रदेश सभा बैठक

शुन्य समयमा कसले के भने ?

उद्‌घोष सम्वाददाता
१४ जेठ २०८१, सोमवार

विराटनगर । कोशी प्रदेश सभाका सांसदहरुले सरकारले प्रदेशवासीको अवस्था परिवर्तन गर्नु पर्नेदेखि प्रहरीले अपराधी पक्राउ नगरेकोसम्मका बिषय चर्चामा ल्याएका छन् ।

आइतबार कोशी प्रदेश सभाको बैठकको शून्य समयमा बोल्दै उनीहरुले प्रदेश सभा सरकार फेरबदलमा मात्रै केन्द्रीत हुँदै आएकोले वर्तमान सरकारले अब केहि गर्नैपर्ने बताए ।

एमालेका सांसद किशोरचन्द्र दुलालले प्रदेश सभाको दुई बर्ष बित्न लागेको तर आफूहरु सरकार निर्माण र सत्ता जोगाउने खेलमा लाग्नुपरेको बताए । अहिले एउटा बच्चा जन्मिंदा ८२ हजार रुपैयाँ ऋण बोकेर जन्मिने गरेको बताए । 

‘अब हामीले पनि केही गरौं’ उनले भने, ‘हामीले हाम्रा योजना र कार्यक्रमहरु भावी पुस्तालाई केन्द्रमा राखेर निर्माण गरौं, सुशासन स्थापित गरौं, जवाफदेही शासन सञ्चालन गरौं, जनजिविकामा मल्हम लगाउने ठोस कार्यक्रम अगाडि सारौं ।’

एमालेकै सांसद गीतादेवी रेग्मीले उदयपुरमा आगलागीका घटनामा ६४ वटा घर गोठ जलेको र ७१ वटा पशुचौपाया मरेको भन्दै राहत र क्षतिपूर्तिका लागि प्रदेश सरकारसँग आग्रह गरिन् । उनले पीडित र प्रभावितहरुले थप राहत नपाएकोले राहतको व्यवस्था गर्न माग गरिन् ।

राप्रपाका सांसद गोपालबहादुर विश्वकर्माले छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति पक्राउ गर्न प्रहरी उदासिन भएको गुनासो गरे । गत बैशाख २१ गते दमकमा पढ्दै गरेकी छात्रा एजिना गजमेरमाथि सिरहाका अमितकुमार यादवलाई प्रहरीले अहिलेसम्म पक्राउ नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

एमालेका सांसद तिलचन पाठकले कोशी प्रदेश नामकरणपछि पनि अझै कतिपय कार्यालयहरुले नाम कार्यन्वयन नगरेको बताए । उनले यातायात व्यवस्था विभागबाट जारी हुने सवारी साधन अनुमति पत्रमा समेत प्रदेश १ नै उल्लेख हुने गरेको भन्दै प्रदेशको नाम कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गराए ।

एमालेकै सांसद रामदेव यादवले किसानले उन्नत जातको बीउविजन प्राप्त गर्न नसकेको बताए । बीउबिजनको अभावमा भारतबाट महंगोमा खरिद गर्नुपर्ने र त्यसरी खरिद गर्दा प्रहरीले समेत दुख दिने गरेको गुनासो गरे । उनले उखु किसानले खाद मल नपाएको पनि बताए ।

एमालेकै रोहित बहादुर कार्कीले आगलागीजन्य घटनामा सरकारले पीडितहरुलाई राहत दिनुपर्ने माग गरेका थिए ।

View : 305

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved