मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेसको क्षेत्रीय अधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुनुअघि कार्यकर्ताबीच झडप भएको छ। सुन्दरहरैंचास्थित सिग्देल प्रतिष्ठानको गेटमा भएको झडपमा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तवदार, चेतराज रेग्मीलगायत नेता–कार्यकर्ता घाइते भएका छन्।
झडपपछि मनोनयन प्रक्रिया प्रभावित भएको छ। कांग्रेसभित्रै एक पक्षले अर्को पक्षमाथि नियोजित रूपमा आक्रमण गराएको आरोप लगाएको छ भने क्षेत्रीय सभापति देवराज तामाङले आरोप अस्वीकार गरेका छन्।
क्षेत्रीय सभापति तामाङले निर्वाचन समितिलाई पत्र पठाएर बिहान ११ बजेदेखि निर्वाचन प्रक्रिया सुरु गर्न आग्रह गरेका थिए। सोहीअनुसार प्रक्रिया अघि बढाउने तयारी गरिएको कांग्रेस सहमहामन्त्री डिला संग्रौलाले बताइन्।
संग्रौलाका अनुसार आफूलाई तामाङले कार्यक्रम उद्घाटनका लागि बोलाएका थिए। तर, कार्यक्रमस्थल पुग्दा केही व्यक्ति फलामका रडसहित आएको र विवादका क्रममा तवदारलगायतमाथि आक्रमण भएको उनले बताइन्।
‘क्षेत्रीय सभापतिले आफैं बोलाएको अधिवेशन हो। आफैंले दिएको निवेदनअनुसार निर्वाचन प्रक्रिया सुरु गर्ने क्रममा फलामका रड लिएर आएर आक्रमण गर्नु दुःखद् हो,’ संग्रौलाले भनिन्, ‘घटनामा संलग्न व्यक्तिहरूमाथि छानबिन गरेर कारबाही हुनुपर्छ।’
तवदारलाई गाडीबाट निकालेर समेत कुटिएको उनको दाबी छ।
‘चुमनारायण तवदारमाथि पहिला गाडीमै कुटपिट भयो। त्यसपछि गाडीबाट निकालेर भाटाले कुटियो। चेतराज रेग्मी र अरू भाइहरूमाथि पनि आक्रमण भयो,’ उनले भनिन्।
संग्रौलाले घटनामा पाँच–छ जना घाइते भएको र केहीको उपचार भइरहेको जानकारी दिइन्। उनले घटनामा तामाङको भूमिकासमेत छानबिन हुनुपर्ने माग गरिन्।
तामाङ भने आफूले कसैमाथि आक्रमण गराउन निर्देशन नदिएको बताउँछन्। उनका अनुसार बिहान ९ बजे कार्यक्रम राखिएको थियो र सहमहामन्त्री संग्रौला प्रमुख अतिथिका रूपमा आउने कार्यक्रम थियो।
कार्यक्रम सुरु गर्ने तयारी भइरहेका बेला क्रियाशील सदस्यता वितरणको विषयमा केही कार्यकर्ताले प्रश्न उठाएपछि विवाद सुरु भएको तामाङले बताए।
‘क्रियाशील सदस्यता बाँड्दा क्षेत्रीय सभापतिको अधिकार खोसियो, वडा सभापति र क्षेत्रीय सभापतिको अधिकार मिचेर मनपरी क्रियाशील बाँडियो भनेर साथीहरूले कुरा उठाउनुभयो,’ उनले भने, ‘त्यही विषयमा कुरा भइरहेका बेला कार्यक्रम सुरु हुनुअघि नै टेबल पल्टाउनेलगायतका घटना भए र झगडा भयो।’
संग्रौलाले आफूलाई नै नियोजित आक्रमण गराएको आरोप लगाएको विषयमा तामाङले त्यसको पुष्टि गर्न चुनौती दिए।
‘उहाँले आरोप लगाउनुभएको छ भने पुष्टि गर्नुपर्यो। आरोप त म पनि उहाँमाथि लगाउन सक्छु,’ तामाङले भने, ‘कार्यक्रममा झडप कसरी भयो भन्ने विषय म पनि बुझिरहेको छु।’
तामाङ कांग्रेस नेता डा. शेखर कोइरालानिकट मानिन्छन्। कोइराला भने यसपटकको महाधिवेशन प्रक्रियामा सहभागी छैनन्।
मोरङ–६ को अधिवेशन प्रक्रिया यसअघि पनि विवादमा परेको थियो। क्रियाशील सदस्यताको अन्तिम सूची नआएका कारण यो क्षेत्रमा वडा अधिवेशनसमेत ढिला भएको थियो। क्षेत्रीय सभापति तामाङ र तवदारबीच अधिवेशन तथा संगठन सञ्चालनका विषयमा मतभेद रहँदै आएको कांग्रेस नेताहरू बताउँछन्।
यसपटक क्षेत्रीय सभापतिमा तवदार र बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर दाबेदार छन्। तवदारले केही दिनअघि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए।
View : 97
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved