विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सम्पन्न मिनी अक्सनबाट विराटनगर किंग्सले आफ्नो टोलीलाई थप सन्तुलित र प्रतिस्पर्धी बनाएको छ ।
सोमबार काठमाडौंमा सम्पन्न अक्सनमा १५५ खेलाडीमध्ये ५२ खेलाडी आठ टोलीमा बिक्री हुँदा विराटनगरले सात नयाँ खेलाडी अनुबन्ध गरेको हो ।
सन्दीप लामिछाने मार्की प्लेयर रहेको विराटनगर किंग्सले युवा खेलाडी रुपेश कुमार सिंहलाई अक्सनको सबैभन्दा बढी १५ लाख रुपैयाँमा अनुबन्ध गर्न सफल भएको छ ।
रुपेशका लागि विराटनगरसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्सले अधिकतम मूल्यमा बोली लगाएका थिए । अन्ततः गोला प्रथाका आधारमा गरिएको छनोटमा विराटनगरले उनलाई आफ्नो टोलीमा भित्र्याउन सफल भएको हो ।
रुपेशसँगै विराटनगरले नरेन साउदलाई ५ लाख रुपैयाँ, दिलसाद अलीलाई ५ लाख रुपैयाँ, सुजन थपलियालाई ४ लाख २५ हजार रुपैयाँ, अपराजित पौडेललाई २ लाख रुपैयाँ, प्रतिक श्रेष्ठलाई २ लाख रुपैयाँ तथा इम्रान शेखलाई २ लाख रुपैयाँमा अनुबन्ध गरेको जनाइएको छ ।
यसअघि विराटनगरले आफ्नो मुख्य टिम संरचनाभित्र मार्की सन्दीप लामिछानेसहित लोकेश बम, बसिर अहमद, नारायण जोशी, प्रतिस जिसी र सुभाष भण्डारीलाई रिटेन गरिसकेको छ ।
अक्सनबाट आएका नयाँ खेलाडीसँगै टोलीले ब्याटिङ, बलिङ र अलराउन्डमा टिम थप मजबुत बनेको दाबी गरिएको छ ।
एनपीएलको तेस्रो संस्करणलाई लक्षित गर्दै विराटनगरले अनुभवी र युवा खेलाडीको संयोजनमा टोली निर्माण गरेको जनाएको छ ।
सोमबार सम्पन्न मिनी अक्सनबाट सबै टोलीले आवश्यकताअनुसार टिमभित्रको रिक्तता पुरा गरेको बताएका छन् । विराटनगर किंग्सले पनि अक्सनमार्फत सात खेलाडी थप्दै आफ्नो टोलीलाई लगभग पूर्णता दिएको जनाएको छ ।
View : 65
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved