विराटनगर । इन्द्र—मोहन स्मृति गुठी धनकुटाले शनिबार चार स्रष्टालाई सम्मान गरेको छ । विभिन्न क्षेत्रमा योगदान पुर्याउने चारजना स्रष्टालाई नगदसहित गुठीले सम्मान गरेको हो ।
गुठीका अध्यक्ष विवश पोखरेलको अध्यक्षता तथा कोशी प्रदेशका पूर्वप्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्य, पत्रकारिता र गीतसंगीतका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउने स्रष्टाहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा गुठीले चर्चित गायिका कुन्ती मोक्तान, साहित्यकार एवं पत्रकार किशोर पहाडी, साहित्यकार रुद्र ज्ञवाली र कवि मञ्जुश्री गिरीलाई नगदसहित सम्मान गरेको थियो ।
उनीहरूलाई प्रमुख अतिथि तुम्बाहाङ, गुठीका अध्यक्ष पोखरेल, प्रा.डा. टंक न्यौपाने, साहित्यिक पत्रकार संघका अध्यक्ष एवं अग्रज साहित्यकार राधेश्याम लेकाली, गुठीकी संरक्षक डा. विमला श्रेष्ठ, पुरस्कारकी संस्थापक शशी श्रेष्ठ, प्राध्यापक कविराज न्यौपानेलगायतले दोसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गरेका थिए ।
कवि गिरीलाई १५ हजार र अन्य तीनजना स्रष्टालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
कार्यक्रममा कवि गोकुल अधिकारी, मुरारी सिग्देल, राधिका गुरागाईं, कवि एवं पत्रकार मीनकुमार नवोदित, साहित्यकार हरि कट्टेल, लक्ष्मी रायमाझी र भावना श्रेष्ठले पुरस्कृत स्रष्टाहरूको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रदेश प्रमुख तुम्बाहाङले भाषा, साहित्य र संगीत देशको ऐना भएको चर्चा गरे । उनले भौतिक पूर्वाधारको विकाससँगै भाषा, साहित्य र संगीतको विकासले मात्रै मुलुकको समग्र विकास हुने धारणा राखे ।
२०६२ सालमा स्थापित गुठीले हरेक दुई वर्षमा साहित्य, पत्रकारिता, गीतसंगीतलगायतका क्षेत्रमा योगदान पु¥याउने स्रष्टाहरूलाई नगदसहित सम्मान गर्दै आएको गुठीका अध्यक्ष विवश पोखरेलले जानकारी दिए ।
View : 311
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved