विराटनगर । प्रदेशसभाको पाँचौँ अधिवेशन अवधिभर ३५ वटा बैठक बस्दा कोशी प्रदेशको कामकाजी भाषा विधेयकसहित महत्वपूर्ण विधेयक पारित भएका छन् । पाँचौं अधिवेशनभर बैठकमा कुल ४८ घण्टा ५० मिनेट बसेको हो ।
सरकारको राजनीतिक वैधतासँग सम्बन्धित विश्वासको मतदेखि कानुन निर्माण र जनसरोकारका विषयमाथिको छलफलसम्मका गतिविधि अधिवेशनका प्रमुख कार्यसूची बनेका थिए ।
प्रदेशसभामा सदस्यहरूले शून्य समय र विशेष समयमा उठाएका प्रश्न, जिज्ञासा तथा जनसरोकारका विषयमा सरकारले जवाफ दिने अभ्यासले संसद बैठकमा निरन्तरता पाएको सभामुख अम्बरबहादुर विष्टले बताए । यसले प्रदेश सरकारलाई संसद्प्रति थप उत्तरदायी बनाउने र संसदीय प्रक्रियालाई सक्रिय राख्ने प्रयास गरेको उनले बताए ।
पाँचौं अधिवेशनले भाषा र पहिचानको विषयसँगै प्रदेश सरकारको बजेट, खर्च र वित्तीय जवाफदेहितासँग सम्बन्धित कानुनी व्यवस्थालाई पनि बलियो रुपमा अघि बढाएको जनाइएको छ ।
कोशी प्रदेशमा सरकारी कामकाजको भाषा निर्धारणसम्बन्धी विधेयक पारित हुनु महत्वपूर्ण कार्य भएको जनाइएको छ । यस विधेयकमार्फत कोशी प्रदेशभित्र १३ वटा भाषालाई सरकारी कामकाजको भाषाका रूपमा निर्धारण गर्ने बाटो खोलेको हो ।
सभामुख विष्टका अनुसार भाषिक विविधतालाई सरकारी कामकाजमा समेट्ने यो व्यवस्था प्रदेशको पहिचान र समावेशिताका दृष्टिले महत्वपूर्ण हुने बताए ।
पाँचौ अधिवेशनको अवधिमा ‘किशोरीसँग उपसभामुख’, ‘स्थानीय तहसँग प्रदेशसभा’ र ‘विद्यालयसँग प्रदेशसभा’ जस्ता कार्यक्रममार्फत स्थानीय तहसँग समन्वय तथा विद्यार्थीलाई संसदीय अभ्यासबारे समुदाय र विद्यालय तहमा जानकारी गराइएको उपसभामुख सिर्जना दनुवारले बताइन् ।
यी कार्यक्रमले किशोरी, विद्यार्थी र स्थानीय तहका प्रतिनिधिलाई संसदीय प्रक्रिया बुझ्ने तथा जनप्रतिनिधि र नागरिकबीच संवाद बढाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको उनले बताइन् ।
कोशी प्रदेशमा पाँचौं अधिवेशनबाटै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पनि प्राप्त गरेका थिए ।
View : 35
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved