विराटनगर । प्रतिनिधिसभाका ११ विषयगत समिति र एक संयुक्त समिति सभापतिका लागि कोशी प्रदेशका तीन जना सांसदले उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मोरङ ३ का सांसद गणेश कार्की, सुनसरी ३ का सांसद अशोककुमार चौधरीले संसदीय समितिको सभापतिमा उम्मेदवारी दिएका छन् ।
नेकपा एमालेका नेता गुरु बरालले पनि संसदीय समिति सभापतिमा उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभाको समितिहरूका सभापतिका लागि शुक्रबार निर्वाचन मिति तोकिएको छ । त्यसका लागि बिहीबार अपरान्ह ४ बजेसम्म सभापतिका लागि मनोनयन दर्ता कार्यक्रम थियो ।
त्यसक्रममा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा सुनसरीका चौधरी र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा मोरङका कार्कीको उम्मेदवारी परेको हो ।
एमालेका गुरु बरालले शिक्षा समितिमा उम्मेदवारी दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापति पदमा उम्मेदवारी दिएको छ ।
रास्वपाले लेखा समितिमा उम्मेदवारी नदिएका कारण कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भरतबहादुर खड्का निर्वाचित हुने निश्चित भएको छ ।
त्यसो त प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समिति राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन र अनुगमन तथा मूल्याकन समितिमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट मदनकुमारी शाह गरिमाको पनि उम्मेदवारी परेको छ । यद्यपि २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपासँग १८२ जना सांसद छन् ।
झण्डै दुई तिहाई नजिकको बहुमत साथमा भएको रास्वपाको तर्फबाट उम्मेदवार बनेका मोरङ ३ का सांसद गणेश कार्की शक्तिशाली मानिने संयुक्त समितिको सभापति चुनिने निश्चित छ ।
स्थापनाकालदेखि नै रास्वपामा आबद्ध उनी २०७९ मै सांसद बन्ने तयारीमा थिए । त्यति बेला समानुपातिक सूचीबाट सांसद चुनिन नसकेका कार्की यसपटक मोरङ–३ बाट प्रत्यक्ष उम्मेदवार भई निर्वाचित भएका थिए । उनले कांग्रेस नेता डा. सुनिल शर्मालाई पराजित गरेका हुन् ।
लेखपढमा रुचि राख्ने सांसदको छवि बनाएका कार्की लेखनसँगै राजनीतिक कर्ममा पनि समानान्तर परिचय बनाएका छन् । रास्वपाभित्र सभापति रवि लामिछानेको आलोचना गरेर चर्चामा आएका उनी प्रधानमन्त्री बालेन शाह निकट मानिन्छन् ।
सुनसरी–३ बाट निर्वाचित अशोककुमार चौधरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति बन्ने निश्चित भएको छ । उनको उम्मेदवारी परेको समितिमा कसैको उम्मेद्वारी परेको छैन ।
२०७९ सालको निर्वाचनमा समानुपातिकबाट सांसद बनेका चौधरीले यसपटक प्रत्यक्षतर्फ जित हासिल गर्ने क्रममा कांग्रेस नेता विजयकुमार गच्छदार र एमालेकी नेता भगवती चौधरीलाई हराएका थिए ।
खेलकुद क्षेत्रबाट सार्वजनिक जीवनमा परिचित बनेका चौधरी पछिल्ला वर्षहरूमा राजनीतिमा सक्रिय हुँदै संसद्सम्म पुग्ने नेताको रूपमा चिनिन्छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–५ पचरुखीका स्थायी बासिन्दा चौधरीको प्रारम्भिक पहिचान खेलाडीका रूपमा बनेको थियो ।
विश्वकै प्राचीन खेल डोरीतान अर्थात ‘टग अफ वार’ खेलका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका चौधरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व गरेका थिए ।
सन् २०१९ को १४ औं एसियन टग अफ वार च्याम्पियनसिपमा नेपालका तर्फबाट सहभागिता जनाएका उनी हाल नेपाल डोरीतान संघका सल्लाहकार छन् ।
उक्त खेलको उनी राष्ट्रिय रेफ्रीसमेत हुन् । अब उनले संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको नेतृत्व गर्नेछन् ।
कोशी प्रदेशकै एमाले सांसद गुरु बरालको भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रास्वपाकी सांसद ओजश्वी शेरचनसँग प्रतिष्पर्धा हुने सम्भावना छ ।
उनीहरू दुवैको उम्मेदवारी परेको छ । यदि एमालेका बरालले उम्मेदवारी फिर्ता नलिए १८२ सदस्य भएको रास्वपाकी शेरचन र २५ सदस्य भएको एमालेबीच प्रतिष्पर्धा हुन सक्छ ।
त्यस्तो अवस्थामा विराटनगरका नेता बराल संसदीय समितिको सभापतिमा पराजित बन्ने निश्चित जस्तै छ ।
संसद पुग्ने पटकपटक प्रयास गर्दा विफल बनेका बराल यसपटक समानुपातिक सूचीबाट प्रतिनिधिसभा पुग्न सफल बनेका नेता हुन् ।
यद्यपि उनी दोस्रोपटक संसद पुग्दै गर्दा उनको दल एमाले भने संसदमा तेस्रो शक्तिमा खुम्चिएको अवस्थामा छ ।
लेखा समितिमा कांग्रेसबाहेक अन्य सबै समितिमा रास्वपाकै तर्फबाट उम्मेदवारी दिएकाहरू सभापति चुनिने निश्चित जस्तै छ ।
जसअनुसार कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, पूर्वाधार विकास समितिमा आशीष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, संसदीय सुनुवाइ विशेष समितिमा बोधनारायण श्रेष्ठ, उद्योग वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास र अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकीको उम्मेदवारी परेको छ ।
View : 74
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved