विराटनगर आँखा अस्पतालमा अनौठो संयोग
विराटनगर । तीन वर्षका अर्स नुर आलमको आँखामा चक्कुले चोट लागेको थियो ।
भारतको सुपौलस्थित घरमा खेलिरहेका बेला तरकारी काट्ने चक्कुले उनको आँखाको कोर्नियामा चोट लागेपछि परिवारले उनलाई नजिकैको क्लिनिक पुर्यायो ।
त्यहाँ आँखाको घाउ सिलाएर उपचार गरियो। तर केही दिनपछि पट्टी खोल्दा पनि घाउ निको भइसकेको थिएन ।
छोराको आँखाको अवस्था देखेर आमा आशियाना प्रविण चिन्तित भइन् ।
उनका श्रीमान् नुर आलम रोजगारीका लागि साउदी अरबमा थिए ।
उनले दिल्लीमा रहेका आफ्ना बुबा मिर्जाउल हकलाई फोन गरेर सबै कुरा सुनाइन् ।
‘छोरालाई विराटनगर आँखा अस्पताल लैजानू,’ हजुरबुबाले सल्लाह दिए ।
त्यही सल्लाह पछ्याउँदै आशियाना छोरालाई लिएर असार २२ गते (६ जुलाई ) मा विराटनगर आँखा अस्पताल आइपुगिन् ।
बाल नेत्र विभागमा अर्सको जाँच भयो ।
अर्को दिन बाल नेत्र विशेषज्ञ डा. श्यामसुन्दर यादवले उनको कोर्नियाको आवश्यक उपचार तथा रिपेयर गरे ।
उपचारपछि नियमित फलोअप सुरु भयो। पहिलो फलोअप सात दिनमा भयो। दोस्रो फलोअपका लागि उनलाई बिहीबार (साउन २१) मा अस्पताल बोलाइएको थियो ।
जाँचपछि आँखामा राखिएको स्युचर बिहीबारमा हटाउने योजना बन्यो ।
त्यसैअनुसार अर्सलाई अस्पतालको ओपीडी वार्डको केबिनमा भर्ना गरियो ।
तर त्यही राति अर्सकी आमालाई अचानक प्रसव पीडा सुरु भयो ।
छोराको आँखाको उपचारका लागि अस्पतालमा रहेकी आशियाना आफैं गर्भवती थिइन्। राति प्रसव पीडाले छटपटाउन थालेपछि अस्पतालका नर्सिङ कर्मचारीलाई खबर गरियो ।
आँखा उपचारका लागि परिचित अस्पतालका लागि त्यो क्षण फरक जिम्मेवारीको थियो ।
ड्युटीमा रहेका मेडिकल अफिसरसहितको स्वास्थ्यकर्मीको टोली तत्काल उनको हेरचाहमा जुट्यो ।
आवश्यक निगरानी र सहयोगबीच आशियानाले अस्पतालमै सामान्य प्रसवबाट एक स्वस्थ छोरालाई जन्म दिइन् ।
छोराको आँखाको उपचार गराउन भारतबाट नेपाल आएकी आमाको काखमा त्यस रात अर्को छोरा थपियो ।
एकातिर अर्सको आँखाको उपचार चलिरहेको थियो। अर्कोतिर उनको परिवारमा नयाँ सदस्यको आगमन भयो ।
प्रसवपछि थप हेरचाह आवश्यक रहेकाले आमालाई कोशी अस्पतालको मेटरनिटी वार्डमा भर्ना गरियो ।
यता अर्सको आँखाको उपचार पनि निर्धारित योजनाअनुसार अघि बढ्यो ।
शुक्रबार स्युचर हटाउने उपचार सम्पन्न भयो ।
उपचारपछि उनको अवस्था सन्तोषजनक रहेकाले शनिबार (आज)मा उनलाई डिस्चार्ज गरी घर पठाइएको विराटनगर आँखा अस्पतालका व्ववस्थापक कुमार पृथुले बताए ।
अर्सको परिवारका लागि विराटनगर आँखा अस्पतालको यो बसाइँ केवल आँखाको उपचारमा सीमित रहेन ।
आँखामा लागेको चोटले चिन्तित भएर नेपाल आएको परिवारले त्यहीँ छोराको उपचार पायो। उपचारकै क्रममा आमाले सुरक्षित रूपमा अर्को छोरालाई जन्म दिइन् ।
बुबा वैदेशिक रोजगारीमा रहेका बेला आमाले एक्लै छोरालाई उपचारका लागि नेपाल ल्याएकी थिइन् ।
अस्पतालमा उपचार भइरहेकै समयमा उनले अर्को सन्तानलाई जन्म दिइन् ।
अस्पतालका स्वास्थ्यकर्मीका लागि यो एउटा आकस्मिक परिस्थिति थियो ।
तर उनीहरूले आफ्नो जिम्मेवारी उपचार कक्षको सीमाभन्दा बाहिर पनि पूरा गरे ।
एउटा तीन वर्षीय बालकलाई आँखाको उज्यालो बचाउन अस्पताल ल्याइएकाे थियाे ।
त्यही अस्पतालबाट उनको परिवारले अर्को उज्यालो, नयाँ जीवन, लिएर घर फर्कियो ।
ती बालकले भाइ लिएर फर्किए ।
अर्सको आँखाको उपचारसँगै उनको परिवारले पाएको यो अप्रत्याशित खुसी विराटनगर आँखा अस्पतालका स्वास्थ्यकर्मीका लागि पनि एउटा मानवीय सेवाको स्मरणीय घटना बनेको अस्पतालका व्ववस्थापक कुमार पृथुले बताए ।
View : 651
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved