विराटनगर । बजारमा गुणस्तरहीन वस्तु बिक्री, कम तौल र मनपरी मूल्य असुलीका गुनासा बढ्न थालेपछि विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई थप कडाइका साथ अघि बढाउने भएको छ ।
उपभोक्ता हित संरक्षणलाई केन्द्रमा राख्दै महानगरले नियमित, प्रभावकारी र परिणाममुखी अनुगमन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
विराटनगर महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐन–२०८० को दफा २१ बमोजिम गठित बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकले व्यवसायीलाई कानुनको दायराभित्र रहेर व्यापार गर्न सचेत गराउँदै उपभोक्तामाथिको कुनै पनि प्रकारको ठगी सह्य नहुने स्पष्ट पारेको छ ।
समितिकी संयोजक एवं विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले व्यवसायसँग सम्बन्धित कानुन, मापदण्ड र उपभोक्ता अधिकारबारे जानकारी राख्नु हरेक व्यवसायीको दायित्व भएको बताइन् ।
उनले बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन महानगर कठोर रूपमा प्रस्तुत हुने चेतावनी दिइन् ।
‘व्यवसाय गर्नु अधिकार हो, तर कानुन पालना गर्नु दायित्व पनि हो,’ उनले भनिन्, ‘उपभोक्तालाई ठग्ने, गुणस्तरमा सम्झौता गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने कसैलाई पनि छुट दिइँदैन । बजारलाई अनुशासित बनाउन महानगर दृढतापूर्वक अघि बढ्छ ।’
बैठकमा सहभागी मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले बजारमा देखिएका विकृति नियन्त्रणका लागि स्थानीय तह, प्रशासन र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताए ।
बैठकमा उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिहरुले बजारमा गुणस्तरहीन सामग्री बिक्री, कम तौल, म्याद नाघेका वस्तुको कारोबार तथा मूल्यमा अस्वाभाविक अन्तर देखिएको भन्दै प्रभावकारी अनुगमनको माग गरेका थिए ।
बैठकमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोज गौतम, विराट व्यापार संघका अध्यक्ष प्रमोद अग्रवाल, मोरङ उद्योग व्यापार संघका कार्यकारी अधिकृत भरत शर्मा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरकी सावित्री न्यौपाने, महानगर प्रहरी प्रमुख राजन पौडेललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
View : 170
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved