Biratnagar, Morang, Nepal
२७ जेठ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

कोशी अस्पतालमा बीमाबारे जानकारी दिन ‘क्यूआर सुविधा थैली’ सञ्चालन

उद्‌घोष संवाददाता
२७ जेठ २०८३, बुधवार

विराटनगर । बिरामी तथा सेवाग्राहीलाई स्वास्थ्य बीमा सम्बन्धी सेवा, औषधि तथा उपचार प्याकेजबारे सहज जानकारी उपलब्ध गराउने उद्देश्यले कोशी अस्पतालले ‘स्वास्थ्य बीमा बोर्ड सुविधा थैली’ सञ्चालनमा ल्याएको छ ।

अस्पताल परिसरमा राखिएको क्यूआर कोड स्क्यान गरी सेवाग्राहीले स्वास्थ्य बीमा बोर्डअन्तर्गत उपलब्ध सुविधाहरू, उपचार प्याकेज, औषधि तथा अन्य आवश्यक जानकारी मोबाइलमार्फत सहजै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार क्यूआर कोड स्क्यान गरेपछि स्वास्थ्य बीमा योजनाअन्तर्गत उपलब्ध सेवा, कभरेज विवरण तथा उपचारसम्बन्धी जानकारी डिजिटल माध्यमबाट हेर्न सकिनेछ । यसबाट अस्पतालमा उपचारका लागि आउने बिरामी र उनका आफन्तलाई सूचना प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ ।

पछिल्लो समय सरकारी अस्पतालहरूमा डिजिटल सेवा विस्तार गर्ने अभियानअन्तर्गत कोशी अस्पतालले पनि प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिएको छ । 

क्यूआर कोडमार्फत जानकारी उपलब्ध गराउने व्यवस्थाले सेवाग्राहीलाई लामो समयसम्म सोधपुछ गर्नुपर्ने झन्झट कम हुने र आवश्यक सूचना छिटो प्राप्त गर्न सहयोग पुग्ने विश्वास लिएको अस्पताल प्रशासन प्रमुख त्रिलोचन न्यौपानेले बताए ।

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन र सेवाग्राहीलाई आफ्ना अधिकार तथा सुविधाबारे स्पष्ट जानकारी दिन यस्ता डिजिटल सूचना प्रणाली उपयोगी हुने स्वास्थ्य क्षेत्रका जानकारहरू बताउछन् । 

कोशी अस्पतालले आगामी दिनमा पनि सेवाग्राहीमैत्री तथा प्रविधिमैत्री सेवा विस्तार गर्दै लैजाने जनाएको छ ।

View : 71

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved