Biratnagar, Morang, Nepal
१५ साउन २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

संवादमार्फत स्थायी शान्तिको प्रतीक्षामा देवानगञ्ज

उद्‌घोष संवाददाता
१४ साउन २०८३, बिहिवार

Advertisement

विराटनगर । आइतबार रातिदेखि अशान्त बनेको सुनसरीको देवानगञ्ज र आसपासका क्षेत्रमा बुधबार दिनभरी भने तनाव साम्य जस्तै रह्यो ।

हिंसात्मक  झडप र त्यसपछिको अशान्त वातावरणपछि बुधबार पहिलोपटक स्थानीय बासिन्दाले केही हदसम्म राहतको सास फेरेका हुन् । यद्यपि गाउँलेहरूमा छाएको त्रास र आपसी अविश्वासको गहिरो खाडल भने अझै मेटिन सकेको छैन ।

स्थानीय प्रशासनद्वारा जारी कफ्र्यू आदेश, नेपाली सेनासहित तैनाथ सुरक्षा निकायको व्यापक उपस्थिति र सरकारी निकायका उच्च अधिकारीहरूको निरन्तरको अनुगमनका कारण बुधबार दिनभर थप अप्रिय घटनाहरू हुन पाएनन् ।

अघिल्ला दिनहरूमा विभिन्न स्थानमा तीव्र रूपमा फैलिएको विरोध प्रदर्शन र झडप बुधबार भने फाट्टफुट्ट अवस्थामा सीमित रह्यो । बरु बुधबार सुनसरीको इटहरीसहितका क्षेत्रमा सद्भाव ¥याली आयोजना भएको थियो । 

यसले  सुनसरीका संवेदनशील क्षेत्रहरू शान्त देखिए । देवानगञ्जमा स्थानीयवासी यही शान्तिलाई स्थायी बनाउन सरकारले ठोस कदम चाल्नुपर्ने माग गरिरहेका छन् ।

बुधबार दिनभर अवस्था केही सामान्यजस्तो देखिए पनि सर्वसाधारण अझै ढुक्क हुन सकेका छैनन् ।

देवानगञ्जका गाउँपालिका अध्यक्ष वेचन मेहताले भने ‘आइतबार रातिदेखि जुन किसिमको अशान्त वातावरण बनेको थियो, त्यो आज बिहानदेखि केही रोकिएको छ । तर भित्रभित्रै फेरि कुन बेला परिस्थिति बिग्रिने हो भन्ने त्रास कायमै छ । त्यसैले स्थायी शान्तिका लागि सबैले पहल गरौं भन्ने अपिल हाम्रो छ ।’

वर्षौँदेखि सँगै बस्दै आएका छिमेकी र समुदायबीच एकाएक बढेको अविश्वास कायमै रहेको स्थानीयवासीको भनाइबाट प्रस्ट हुन्छ । 

बुधबार दिनभरजसो देवानगञ्जका मुख्य सडक, चोक र गल्लीहरू प्रायः सुनसान रहे । मुख्य–मुख्य प्रशासनिक तथा संवेदनशील स्थानहरूमा सुरक्षाकर्मीहरूले कडा निगरानी राखिरहेका थिए ।

कफ्र्यूका कारण सर्वसाधारण आफ्नै घर परिसरभित्र थुनिन बाध्य भए । बाहिर हिंसा रोकिए पनि मानसिक रूपमा आफूहरू सुरक्षित नभएको महसुस उनीहरूले गरिरहेका छन् ।

देवानगञ्ज वडा नम्बर ३ का बासिन्दा रामनारायण मेहताका अनुसार अहिले सिंगो  गाउँ नै डर र चरम अविश्वासको भुमरीमा फसेको छ । 

‘आफैं जन्मेर खेलेको, हुर्केको गाउँमा आज एक्लै बाहिर निस्कन वा हिंडडुल गर्न पनि डर मान्नुपर्ने अवस्था आएको छ,’ उनले चिन्ता व्यक्त गर्दै भने, ‘यो त्रासदीपूर्ण वातावरणलाई तत्काल अन्त्य गर्न सरकारले ठोस र दीर्घकालीन कदम चाल्नुपर्छ ।’

रामनारायण आइतबार रातिको घटनामा गोली लागेर गम्भीर घाइते भएका मिथिलेश मेहताका काका हुन् । उनका अनुसार मृतक तथा घाइतेका परिवारका तर्फबाट घटनामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न व्यक्तिहरूको नामावली स्थानीय प्रशासनलाई बुझाइसकिएको छ ।

उनीहरूमाथि कानुनी कारबाही अघि नबढेसम्म परिस्थिति सामान्य बन्न नसक्ने उनी बताउँछन् ।

‘हाम्रो परिवारको मान्छे मारिएको छ, गोली लागेर अस्पतालको शय्यामा छटपटाइरहेका छन् । मेरै भतिजो अझै महिनौंसम्म अस्पतालमा उपचाररत रहनुपर्ने स्थिति छ,’ उनले भने ‘यस्तो संवेदनशील समयमा पीडित र उनका आफन्तमा आक्रोश बढ्नु स्वाभाविक हो । सरकारले पीडित पक्षले बुझाएको माग बमोजिम निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्छ । त्यसले मात्र पीडित परिवारलाई न्यायको अनुभूति दिलाउनेछ ।’

उनले यस विषयमा प्रशासनिक र राजनीतिक दुवै तहबाट गम्भीर पहल हुनुपर्नेमा जोड दिए ।

स्थानीय जनप्रतिनिधिहरू पनि कफ्र्यू र बाक्लो सुरक्षाकर्मी परिचालनले तत्कालका लागि हिंसात्मक  गतिविधि रोक्न काम गरे पनि यो दीर्घकालीन समाधान होइन । 

अघिल्ला दिनहरूमा कफ्र्यूको बेवास्ता गर्दै सडकमा सर्वसाधारण ओर्लिएको प्रसङ्ग निकाल्दै उनीहरूले आपसी संवाद बढाउने उपाय खोज्नुपर्ने बताए ।

गाउँपालिका उपाध्यक्ष कुमारी विभा यादवले भनिन्, ‘सधैंभरि सेना र प्रहरीको पहरा दिएर वा कफ्र्यू लगाएर राखिने शान्ति क्षणिक मात्र हुन्छ । यो कुनै स्थायी निकास होइन ।

सरकारले माथिल्लो तहबाट राजनीतिक पहल गरी स्थानीय समुदायलाई विश्वासमा लिनुपर्छ । घटनाको निष्पक्ष छानबिन भइरहेको छ र दोषी उम्किने छैनन् भन्ने स्पष्ट सन्देश दिएर जनतामा विश्वास जगाउनु अत्यावश्यक छ ।’ 

त्यस्तै, घटनाबाट रुष्ट र आक्रोशित बनेका घाइते तथा मृतकका आफन्तलाई सम्झाउँदै समाजका अन्य प्रबुद्ध वर्गले सामाजिक पुनर्मिलनको वातावरण बनाउनुपर्ने धारणा पनि स्थानीयस्तरमा उठ्न थालेको छ ।

देवानगञ्जस्थित एक सामुदायिक विद्यालयका शिक्षकका अनुसार अब समुदाय तहमा सार्थक संवाद गराउनु नै उत्तम विकल्प हो । 

‘त्यसका लागि स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, धार्मिक तथा सामाजिक संघ–संस्था, टोल विकास समिति र शिक्षकहरूलाई एकीकृत रूपमा परिचालन गर्नुपर्छ,’ आफू विवादमा पर्न नचाहने बताउने ती शिक्षकले थपे ‘तर, यी सबै प्रक्रियाको नेतृत्व र समन्वय सरकारी तहबाटै हुनुपर्छ, जुन कुरा हालसम्म हुन सकिरहेको छैन ।’

ती शिक्षकका अनुसार सडकमा आक्रोशित भएर उत्रिएका नागरिकहरूलाई वार्ता र संवादको माध्यमबाट विश्वासमा लिनु पहिलो प्राथमिकता हुनुपर्छ । घटना भएको चार दिन बितिसक्दा पनि मृतकका परिवार र घाइतेका मागप्रति सरकारले तत्काल ठोस सम्बोधन नगर्दा आशंका र आक्रोश अझै चुलिँदै गएको उनको भनाइ छ । 

सुनसरी जिल्ला प्रशासनका एक अधिकारीले पनि सुरक्षा बलको तैनाथीभन्दा माथि उठेर राजनीतिक नेतृत्वले गाउँ तहमै पुगेर सार्थक संवाद नगरेसम्म समस्याको दीर्घकालीन समाधान ननिस्कने स्वीकारे । 

‘अहिलेको मुख्य चुनौती भनेको बिग्रिएको सामाजिक सद्भाव र गुमेको विश्वासलाई पुनःस्थापित गर्नु हो,’ ती अधिकारीले भने, ‘राजनीतिक नेतृत्वले अघि सरेर स्थानीय बासिन्दास“ग प्रत्यक्ष कुराकानी नगरेसम्म र सामाजिक सम्बन्ध सुधारको पहल नगरेसम्म यो तनाव पूर्ण रूपमा मेटिन कठिन छ । दुर्भाग्यवश, अहिलेसम्म त्यतातिर पर्याप्त ध्यान जान सकेको छैन ।’

यसैबीच, घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारद्वारा गठित छानबिन समिति बुधबार कडा सुरक्षा घेराकाबीच घटनास्थल पुगेको छ । यसअघि ५ सदस्य रहेको समितिमा बुधबार २ सदस्य थपिएका छन् । 

गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा बनेको सो समिति देवानगञ्ज पुग्दा आफ्ना पीडा र मागहरू राख्नका लागि स्थानीय बासिन्दाहरूको ठूलो भिड जम्मा भएको थियो । 

समितिका संयोजक थापाले निष्पक्ष छानबिन हुने आश्वासन दोहोर्याउँदै तथ्य संकलनको काम सुरु भइसकेको जानकारी दिए । समितिले मृतकका परिवार, घाइतेका आफन्त, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि तथा सर्वसाधारणसँग छुट्टाछुट्टै छलफल गरी बयान र प्रमाणहरू संकलन गरिरहेको छ ।

स्थानीयसँगको छलफलमा संयोजक थापाले भने, ‘हामी यहाँ धेरैभन्दा धेरै तथ्य र प्रमाणहरू संकलन गर्न आएका हौं । फिल्डमा हामीले देखेको, भोगेको र तपाईंहरूको जुन मनोभावना छ, त्यसलाई माथिल्लो निकायसम्म जस्ताको तस्तै पुर्याउने जिम्मेवारी हाम्रो हो ।’ 

साथै उनले स्थानीय बासिन्दालाई संयमता अपनाउन र शान्ति सुरक्षा कायम गर्ने कार्यमा प्रहरी प्रशासनलाई सहयोग गर्न अपिलसमेत गरेका छन् । 

आइतबार राति भएको द्विपक्षीय झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको ज्यान गएपछि देवानगञ्जको अवस्था तनावपूर्ण बनेको थियो । 

घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका थिए । घाइतेहरुको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

View : 55

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved