विराटनगर । सामुदायिक वन उपभोक्ता महासंघ कोशी प्रदेश समितिले कोशी प्रदेशका पाँच जिल्लाका ३४ स्थानीय तहका १८६ वटा वडामा वन तथा जैविक विविधतासम्बन्धी क्षमता विकास तालिम सञ्चालन गर्ने भएको छ ।
कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को प्राविधिक सहयोग तथा जेफको आर्थिक सहयोगमा सञ्चालित 'नेपालको पूर्वी पहाडी भेगमा वन, भूमि र जैविक विविधताको दिगो व्यवस्थापनका लागि क्षमता अभिवृद्धि आयोजना' मार्फत सामुदायिक वन उपभोक्ता महासंघ कोशी प्रदेश समितिले तालिम सञ्चालन गर्ने भएको हो ।
बुधबार कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आयोजित प्रारम्भिक कार्यशालामा सामुदायिक वन उपभोक्ता महासंघ कोशी प्रदेश समितिका अध्यक्ष तुलसी संग्रौलाले तालिममा स्थानीय सरकारका प्रतिनिधि, डिभिजन तथा सव–डिभिजन वन कार्यालयका प्रमुख वा प्रतिनिधि, सामुदायिक वन उपभोक्ता महासंघका स्थानीय प्रतिनिधि, पालिकास्तरीय आदिवासी जनजाति महासंघका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूह तथा दलित समुदायका प्रतिनिधिलगायतको सहभागिता रहने बताए ।
तालिममार्फत वन ऐन, नियमावली तथा सामुदायिक वन सञ्चालनसम्बन्धी प्रक्रियाबारे स्थानीय सरोकारवालाको ज्ञान र क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको जानकारी दिए ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाले सामुदायिक वन उपभोक्ताको दक्षता र क्षमता विकासका लागि तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
उनले सामुदायिक वनबाट हुने स्रोतको परिचालनलाई अझ व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै त्यस विषयमा पनि तालिमका क्रममा छलफल गर्न आग्रह गरे ।
प्रदेश वन निर्देशनालयका निर्देशक भरतबाबु श्रेष्ठले सामुदायिक वन उपभोक्ताको क्षमता विकासका लागि तालिम महत्वपूर्ण अवसर भएको बताए ।
पहाडी क्षेत्रका कतिपय सामुदायिक वन उपभोक्ता समूह निष्क्रिय रहेको उल्लेख गर्दै उनले तालिमले त्यस्ता समूहलाई थप सक्रिय बनाउन सहयोग पुग्ने बताए । उनले सामुदायिक वनमा आन्तरिक सुशासन र आर्थिक पारदर्शिता कायम गर्न महासंघले विशेष अभियान सञ्चालन गर्नुपर्नेमा समेत जोड दिए ।
एफएओ कोशी प्रदेश संयोजक प्रशान्त नेपालले जैविक विविधताको सहभागितामूलक अनुगमन तथा मूल्यांकन निर्देशिकाबारे पनि तालिमका क्रममा समुदाय तहमा छलफल गरिने जानकारी दिए ।
तालिम कोशी प्रदेशका पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाका सामुदायिक वन क्षेत्रलाई केन्द्रित गरी संचालन गरिने तयारी भइरहेको जनाइएको छ ।
View : 245
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved