Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

विराट बहिरा विद्यालयमा योग तथा ध्यान केन्द्र  सुरु

उद्‌घोष संवाददाता
१० फागुन २०८२, आइतवार

विराटनगर ।  विराटनगर–५ स्थित विराट बहिरा माध्यमिक विद्यालयमा अध्ययनरत बोल्न र सुन्न नसक्ने बालबालिकाहरूका लागि नियमित योग तथा ध्यान केन्द्र सञ्चालनमा आएको छ ।

शारीरिक तथा मानसिक स्वास्थ्यलाई सबल बनाउने उद्देश्यका साथ पतञ्जली योग समिति विराटनगर महानगरले आइतबारदेखि विद्यालयमै निःशुल्क योग सेवा सुरु गरेको हो ।

सो साधना केन्द्रको उद्घाटन गर्दै विद्यालयकी प्राचार्य मिनु अधिकारी दाहालले किताबी ज्ञानले मात्र विद्यार्थीको पूर्ण विकास नहुने बताइन् ।

वर्तमान समयमा मानसिक शान्तिका लागि चिकित्सकहरूले समेत योग र ध्यानको सिफारिस गर्ने गरेका छन्,’ उनले भनिन्, ‘हाम्रा विद्यार्थीहरूको आवश्यकतालाई महसुस गरी हामीले पतञ्जली योग समितिलाई केन्द्र सञ्चालनका लागि अनुरोध गरेका हौं ।’

शिविरको पहिलो दिन विद्यालयका २०० भन्दा बढी बालबालिकाहरूले उत्साहका साथ योगाभ्यास गरेका थिए ।

कार्यक्रममा बोल्दै पतञ्जली योग समिति विराटनगरका अध्यक्ष माधव अधिकारीले शारीरिक रूपमा फरक क्षमता भए पनि यी बालबालिकाहरूमा अद्भुत क्षमता रहेको बताए   । विद्यालय व्यवस्थापन समितिका सदस्य तारानाथ भट्टराई र पतञ्जली योग समिति मोरङका उपाध्यक्ष दामोदर पोखरेलले विद्यार्थी जीवनमा अनुशासन र एकाग्रताका लागि योग अपरिहार्य रहेकोमा जोड दिए ।

बोल्न र सुन्न नसक्ने बालबालिकाहरूलाई योगको भाषा बुझाउन शोभा धमला र जानुका पोख्रेलले दोभासे शिक्षकको भूमिका निर्वाह गरेका छन् ।

कार्यक्रममा पतञ्जली योग समिति मोरङकी अध्यक्ष सूची चौधरी, पूर्व अध्यक्षद्वय सुरेश अग्रवाल र ध्रुव तामाङ, महिला महानगर अध्यक्ष कुमारी तामाङ, सहायक प्रधानाध्यापक रमा रिजाल, कोशी बहिरा संघका अध्यक्ष जीवन दाहाल, विद्यालयका संस्थापक सदस्य राजेन्द्रप्रसाद रिजाल र समाजसेवी जयकमल अग्रवाल लगायतको सहभागिता थियो ।

गोग्राहा स्कुलकी पूर्व प्रअ मीना जोशी अध्यक्ष रहेको  विराट बहिरा माविमा नेपालका २७ जिल्लाका बालबालिकाहरू अध्ययनरत छन् । अबका दिनमा विद्यार्थीहरूले नियमित रूपमा योग र ध्यानको प्रशिक्षण पाउने र यसले उनीहरूको सिकाइ क्षमतामा सकारात्मक प्रभाव पार्ने पतञ्जली योग समितिका महासचिव डीबी बस्नेतले जानकारी दिए ।


 

View : 240

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved