विराटनगर । कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेँगु रोगको जोखिम तीव्र रूपमा बढेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार अप्रिल २०२५ यता प्रदेशभर हालसम्म १ हजार ७ सय ६७ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ ।
संक्रमणको दर उकालो लागे पनि हालसम्म कसैले पनि डेंगुका कारण ज्यान गुमाउनु परेको छैन ।
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विशेषगरी झापाको विर्तामोड नगरपालिका, संखुवासभाको खाँदबारी र चैनपुर नगरपालिका, मोरङको बुढीगंगा गाउँपालिका तथा सुनसरीको धरान उपमहानगरपालिकामा डेंगीको प्रभाव बढी देखिएको छ, जसलाई हाल प्रमुख ‘हटस्पट’ का रूपमा लिइएको छ ।
स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत अनिल श्रेष्ठका अनुसार झापाको विर्तामोड नगरपालिका, संखुवासभाको खाँदबारी नगरपालिका, मोरङको बुढीगंगा गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका र संखुवासभाको चैनपुर नगरपालिकालाई डेंगु संक्रमणका प्रमुख ‘हटस्पट’ का रूपमा पहिचान गरिएको छ ।
ती क्षेत्रहरूमा बस्तीको घनत्व र पानी जम्ने अनुकूल वातावरणका कारण संक्रमण तीव्र रूपमा फैलिएको हो ।
यस पटकको तथ्यांक अनुसार ० देखि १० वर्ष उमेर समूहका बालबालिकाहरूमा संक्रमणको दर बढी देखिएको छ ।
साना बालबालिकामा प्रतिरोधात्मक क्षमता कम हुने र लामखुट्टेको टोकाइबाट सजिलै जोगिन नसक्ने भएकाले विशेष सावधानी अपनाउन अभिभावकहरूलाई चिकित्सकहरूले आग्रह गरेका छन् ।
श्रेष्ठका अनुशार डेंगुका बिरामी बढ्दै गए पनि प्रदेशका स्वास्थ्य संस्थाहरूमा परीक्षण र उपचारका लागि पर्याप्त बेड तथा परीक्षण किटको व्यवस्था भइसकेको छ ।
डेंगी नियन्त्रणका लागि स्थानीय तहहरूलाई नियमित निगरानी बढाउनुका साथै ‘खोज र नष्ट गर’ अभियान चलाउन, सञ्चारमाध्यममार्फत जनचेतना फैलाउन र नियमित अनुगमन गर्न निर्देशन दिइएको छ ।
दशै–तिहार अगाडि संक्रमण झनै फैलिने हो कि भन्ने चिन्ता छाए पनि विगतका वर्षहरूको तथ्यांक अनुसार साउन र भदौ महिनामा संक्रमण तीव्र बढ्दै असोजतिर क्रमशः घट्दै जाने प्रवृत्ति देखिएको छ ।
तैपनि जोखिम कायम नै रहेकाले घर वरिपरि पानी जम्न नदिन, बाहिर निस्कँदा लामो बाहुला भएको कपडा लगाउन, सुत्दा अनिवार्य झुलको प्रयोग गर्न र ज्वरो वा शरीर दुख्ने जस्ता डेंगीका लक्षण देखिने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन स्वास्थ्य अधिकारीहरूले अपिल गरेका छन् ।
डेंगुको ज्वरो भाइरसको कारणले हुने भएकाले यसको खासै उपचार नहुने चिकित्सकहरु बताउँछन् । लक्षणकै आधारमा स्वास्थ्य समस्यामा यसको उपचार गर्नुपर्छ । उच्च ज्वरो आएमा सिटामोल र झोलियो पदार्थ प्रशस्त खानुपर्छ ।
डेंगु ज्वरोको खासै उपचार नभएकाले उक्त प्रजातीको लामखुट्टेबाट बच्नु नै यसको मूख्य बतावटको उपाय हो । ज्वरो आएमा हेलचेक्रयाइँ नगरी स्वास्थ्य समस्यामा पुगि हाल्न चिकित्सकहरूले सुझाव दिएका छन् ।
View : 59
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved